१२ असार २०८१, बुधबार

फेरि बनाउन थाले भत्काइएका छाउगोठ


छाउपडी प्रथा

छाम । छाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्बा थापाको छाउगोठ गत महिना जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए पनि उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘घरनजिकै मन्दिर छ, छाउगोठ भत्काएपछि सर्प आयो । घरनजिकै फराकिलो गोठ बनाएका छौं,’ उनले भनिन् । मोतीकला थापाले पनि पुरानो छाउगोठ भत्काएपछि ४० हजार खर्च गरी नयाँ बनाइन् । त्यो पनि ३ दिनअघि जनप्रतिनिधि र प्रहरीको टोलीले भत्कायो ।

उनले भनिन्, ‘पुरानो गोठ भत्काए, गाउँमा गोठ भत्काउन आउनेले घरनजिकै बस्न–सुत्न मिल्ने खालको नयाँ बनाउँदा हुन्छ भनेपछि ४० हजार खर्च गरेर बनाएँ ।’ घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाएको उनले बताइन् । सोही गाउँकी शारदा थापाले ३० हजार खर्च गरेर नयाँ छाउगोठ बनाएकी छन् । ‘नयाँ गोठ पुरानो भन्दा राम्रो थियो, प्रहरी र जनप्रतिनिधिलाई नभत्काउनू भनेर आग्रह गर्दा पनि मानेनन् । घर साँघुरो भएपछि ऋण काढेर नयाँ बनाएँ’, उनले भनिन् ।

पातलकोट गाउँ छाउगोठ मुक्त घोषणा हुने तयारीमा छ । वडामा यसअघि १ सय २० छाउगोठ भत्काइएको थियो । एक महिनापछि अनुगमन गर्दा १७ वटा नयाँ छाउगोठ भइसकेको फेला पर्यो । नयाँ गोठ पनि प्रहरीले भत्काइसकेको छ । प्रहरी पुराना छाउगोठ भत्काउँदै हिँडेको छ । तर स्थानीय घरनजिकै धमाधम बनाइरहेका छन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !