मङ्गलबारे, १२ माघ । इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ ।
स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० लिटर दूध सङ्कलन र प्रशोधन गरिरहनुभएको छ । “दूध थपिएसँगै लगानीसमेत बढेको छ”, उहाँले भन्नुभयो । खत्री हाल जिल्लामा नै क्रियाशिल युवा व्यापारीमा गनिन थालिनुभएको छ । युवा अवस्थामा नै उहाँले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहनुभएको छ ।
मासिक दुई हजार किलो माथि छुर्पी र एक हजार ८०० किलो घ्यू उत्पादन हुनेगरेको उहाँले बताउनुभयो । त्यस्तै बम्मैसन, ललिपपलगायतका परिकारसमेत उत्पादन हुने उहाँले बताउनुभयो । व्यवसायी खत्रीले अन्य साना ३० भन्दा बढी डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी खरिद गर्ने गर्नुभएको छ । खत्रीले आफ्नो उद्योगमा प्रत्यक्षरुपमा २१ जनालाई रोगजारीसमेत दिलाउनुभएको छ । भने अप्रतक्षरुपमा १४० जनाले रोजगारी पाएका छन् ।
इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रुपमा परिचित छ । यहाँ धेरै डेरी उद्योगसमेत सञ्चालनमा छन् । उमेरले कलिलै भए पनि यहाँ प्रायजसो युवाको आकर्षण बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो । देउमाई नगरपालिका–४ का अशेष बुढाथोकीले विदेशबाट फर्किएर डेरी उद्योग स्थापना गर्नुभएको छ । तल्लो बुधवारेमा उहाँले गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गर्नुभएको छ ।
विसं. २०७४ मा स्थापना गरिएको डेरीमा शुरुमा रु ३० लाख लगानी भएको उहाँले बताउनुभयो । बुढाथोकीको उद्योगमा हाल रु ६० लाख माथि लगानी भइसकेको छ । उहाँले करिव २५० किसानले उत्पादन गरेको दूध सङ्कलन गरिनुभएको छ । दैनिक करिव ७०० लिटर बढी दूध सङ्कलन भइरहेको उहाँले बताउनुभयो । ‘कहिले धेरै कहिले थोरै यस्तै हो दूध सङ्कलन ।’ उहाँले भन्नुभयो, “किसानका गाईभैँसी लैनो हुँदा धेरै र बमेर्नो भएपनि कम दूध सङ्कलन हुने उहाँले बताउनुभयो ।” त्यसबाट मासिक एक हजार ५०० किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।
सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू नेपाली बजारमा नै बिक्री हुँदै आएको छ । उहाँको डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाल इलाममा ५५० डेरी उद्योग सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । बिशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योग युवाकै नाममा दर्ता भएका पाइएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा ९१ डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइँले बताउनुभयो । एउटा डेरी उद्योगमा रु एक लाख ५० हजारदेखि रु एक करोड ५० लाखसम्म लगानी हुने गरेको छ । सबैभन्दा बढी देउमाई नगरपालिकामा १०४ डेरी उद्योग सञ्चालनमा छन् ।