वालिङ, ५ माघ । वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बंैडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकिएको नगरप्रमुख खाँणले बताउनुभयो ।
“औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा वडा नं १० बैंडीमा रहेको जग्गा छनोट गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बैंडीमा रहेको ९२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम सञ्चालनका लागि तयारी शुरु गर्छौं ।” पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामका रुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख खाँणको भनाइ छ ।