७ पुस २०८१, आइतबार

अति विपन्न परिवारलाई सौर्यबत्ती


solar

दमौली, १६ पुस । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । थापाका अनुसार बाक्सेका छ र खहरेका एक घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ । उक्त ठाउँका विष्णु नेपाली, सन्तमाया परियार, आइत थापा, आधीमाया थापा, कालु परियार, माया थापा र रश्मी थापालाई सौर्यबत्ती वितरण गरिएको हो ।

“बिजुली नपुगेको गाउँका अतिविपन्न र बिजुली पुगे पनि मिटर राख्नसक्ने हैसियत नभएका घरधुरी छानेर सौर्यबत्ती वितरण गरेका हौँ”, थापाले भन्नुभयो, “अन्य विपन्नलाई पनि क्रमशः सौर्यबत्ती वितरण गरिनेछ ।” सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्बासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको र जडानको खर्च पनि गाउँपालिकाले व्यहोेर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

ती सौर्य उपकरणबाट चारसम्म बत्ती बाल्न पुग्छ । “उज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो”, थापाले भन्नुभयो । गाउँपालिकाले सौर्यबत्ती प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सौर्यबत्ती पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गर्नुभयो । बिजुली बाल्न मिटर जडान गर्नसक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सौर्यबत्ती वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताउनुभयो ।

गाउँपालिकाले केही समय अगाडि गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सौर्यबत्ती वितरण गरेको थियो ।

गाउँपालिकाको भवन निर्माण शुरु

तनहुँको घिरिङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणकार्य शुरु भएको छ । घिरिङ गाउँपालिका–३ पोखरीछापमा रु नौ करोड ११ लाखको लागतमा बन्ने भवनको पहिलो चरणको काम शुरु भएको हो । तीन तलाको भवनको पहिलो चरणमा एक तला निर्माण गरिने गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड र प्रदेश सरकारले रु एक करोड विनियोजन गरेका छन् । पहिलो चरणमा रु दुई करोडको लागतमा चालू आवभित्रै पहिलो तला निर्माण सम्पन्न गरिने रानाले बताउनुभयो । भवन निर्माणको ठेक्का नवलपुरस्थित सम्राट बिल्डर्स प्रालिले पाएको छ ।

“दोस्रो र तेस्रो चरणको काम आगामी आर्थिक वर्ष गरिनेछ”, अध्यक्ष रानाले भन्नुभयो, “चालू आवको जेठ मसान्तसम्म पहिलो तला निर्माण सम्पन्न हुनेछ ।” गाउँपालिकाले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज भइरहेकाले प्रदेश सरकारसँगको समन्वयमा भवन निर्माण शुरु गरिएको रानाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !