७ असार २०८१, शुक्रबार

याँरुपको आउँदो श्रीपञ्चमी मेला भव्यताका साथ हुने


श्रीपञ्चमी मेला

१७ माघ, सिनाम, ताप्लेजुंग । मकर नुहाएर, तरुल भोजन गरी सम्पूर्ण नेपालीहरुबीच सद्भाव छर्दै सुरु हुने माघ महिना अनि सोहि महिनामा सरस्वती माताको बिशेष पुजा हुने दिन बिशेष कार्यक्रमका साथ सम्पन्न हुने श्रीपञ्चमी मेलाको आफ्नै धार्मिक, सास्कृतिक, सामाजिक बिशेष महिमा छ । पूर्वमा हाट बजार, जहाँबाट आफ्नो दैनिक उपभोग्य बस्तुको खरिद बिक्री देखी नाता सम्बन्ध गास्ने संगम स्थलको रुपमा लिईन्छ । प्राय: तिथि, बार, बिशेष पर्वका दिनहरुमा हप्ता, पाक्षिक, मासिक, बार्षिक रुपमा मेला लाग्ने गरेको पाईन्छ । सामाजिक सदभाव कायम गर्न, आवश्यक्ता र मनोरन्जन दुबै पाटोलाई समेट्दै ठूला ठूला मेलाहरु लाग्ने गरेको इतिहास छ ।

यस्तै ठूला मेलाको श्रेणीमा पर्ने श्रीपञ्चमी मेला ताप्लेजुङको श्रीजंघा गाउँपालिका वडा नम्बर १ सिनामको पञ्चमी बजार छेउ सोशुङ्गा र कावेली दोभानमा ६ दशकको सेरोफेरोदेखि मेला लाग्ने गरेको स्थानीय अग्रजहरु बताउछन् भने त्यो भन्दा अगाडी थुम्बेदिन मासो मेला लाग्ने गरेको बताउछन् सिनामका मान बहादुर थापा । सरस्वती पुजाको दिनबाट मेला सुरु भई ३ दिन २ रात लामो मेला लाग्ने गथ्र्यो । झापा, मोरङ्ग, धरानबाट सिद्रा, सुर्तिको ब्यापारी आउने गर्थे भने, पाँचथरको रानी गाउँ, याशोक, चोकमागुसम्मबाट चुरा तोसरोटी मट्टितेल आदिको ब्यापार हुने गथ्र्यो, भारतको असाम, सिक्कीम, दार्जिलिङ्ग, नेपालको पूर्बि पहाडी जिल्लाहरुदेखि झापा, मोरङ्ग, सुनसरीदेखिका मानिसहरु बजार भर्न उपस्थित हुने गरेको पाईन्थ्यो । बिशेषत: आफ्नो जन्मस्थानको घुमघाम, आफन्तसंगको भेटघाट, किनबेच, प्रेमीहरु बीचको मिलन देखी बिबाहसम्मको प्रशस्त उदाहरण छन् ।

बिशेषत लिम्बु संस्कार अन्तर्गतको मुख्य नाच “धान नाच” मेलाको रौनक हुने गथ्र्यो । प्रेमी प्रेमीकाहरु भेट हुनासाथ सामान्य ढोगभेट भए पश्चात नै धान नाच सुरु हुने गथ्र्यो र ३ दिन २ रात अविरल यो नाच चलिरहन्थ्यो । धान नाचमा गाईने पालम लिम्बु भाषामै हुने गर्दछ । बिशेष माया प्रिति, चलन, संस्कार र बिकृतीसम्मलाई समेटेर ठेट लयमा २ जनादेखी दर्जनसम्मको हुलले एक अर्काको हात समातेर निश्चित समयावधि भित्र एकैपटक अगाडी र एकै पटक पछाडी फर्केर गाउने गरिन्छ पालम लाई । लिम्बु जातीहरुको मैलिक संस्कार भएतापनि गैर लिम्बुहरु पनि धान नाच्न र पालम गाउन खप्पिस भेटिएका प्रशस्तै उदाहरणहरु छन् सायद यसैलाई सद्भाव अनि बहुल जात अनि धर्म बीचको सहिष्णता र नेपाली मनको अन्तर पहिचानको रुपमा लिनुपर्दछ । लिम्बु संस्कार अन्तर्गत नै यदि प्रेमी प्रेमीकालाई मन मिले २ जनाको सहमतिमै प्रेमिकाको परिवारबाट भगाएर लैजाने नत्र झगडाको त्रास रहेपनि आकल झुक्कल प्रेमीले जबरजस्ती लैजाने समेत सामान्य संस्कारको रुपमै लिईन्थ्यो र त्यो सम्भव नभए आफ्नो गाउँघरमा पाहुना लगेर सकेसम्म फकाएर नत्र जबरजस्ती बिबाह बन्धनमा गाँसिने चलन समेत रहेको पाईन्थ्यो ।

समय परिवर्तन हुदै गयो, फोन र ईन्टरनेटको सुबिधासंगै मेलामै गएर भेट्ने चलन प्रति उदासिन देखिन्छ हालको युवा समाज । पहिलाको जस्तो पुरै समय मेलामै रमाउने, मेलामा उपलब्ध सेल रोटी, घरमा उसिनेर केराको पातमा बेरेर थुन्चेमा ल्याएको तरुल, सक्खर र चिउरा, काचो काचो भात, रागा, सुगुर, खसी कुखुराको मासु, कावेलीको असला माछा, तिते माछा, उसिनेको अण्डा, तोस रोटी, पानी जस्तै फिक्का भई सकेको दूधमा बोरामा बिजनबारीबाट आयातित हाते चिया पत्तिमा बनेको चिया, चिनीको साटो सक्खर हालेर मैदाको पिठोमा पोलेको रोटी – जुन चपाउदा मेला सकिएको हप्ता दिनसम्म च्यापु दुखेको मिठो अनुभव छन्, कोदोको जाड, रक्सी, फूल तरुल गहु भातबाट बनेको भाती जाड बिशेष मेलाका खुराक हुने गर्थे भने हाल मम, चाउमिन, थुक्पा लगायत आधुनिक खानपिन मेलामा पाउने गर्छ । ३ दिन २ रात सोसुङ्गाको पागो कमेरे माटोमा बस्दा धुलोले एक अर्कालाई चिन्ने गाह्रो हुने गरेको सबै भन्दा रमाईलो पक्ष हुन् । पहिला धान नाच अपरिहार्य थियो भने अहिले आफ्नो संस्कार जोगाउन स्टेजमा शोको रुपमा प्रदर्शन गर्ने गरिन्छ । दोहोरी, संगिनी, मालश्री, बालन, श्लोक, नृत्य समेत मेलाको आकर्षण हुने गरेको पाईन्थ्यो । हाल मेला लाई जिवन्तता दिन खेलकुद, राष्ट्रिय कलाकार सहितको सास्कृतिक कार्यक्रमहरु सहित आयोजकहरुले दर्शक तान्ने गरेको पाईन्छ ।

सिरिजंघा गाउँपालिकाको खान्दिम्बेमा पौषको १६ गते संघीय मेला भब्यताका साथ सम्पन्न भएको मेला कमिटीका अध्यक्ष तथा समाजसेवी ज्ञानु भट्टराईले बताउनुभयो । मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता तथा राष्ट्रिय कलाकार सहितको सास्कृतिक कार्यक्रम भएको जानकारी गराएका छन् । माओबादी द्वन्द सुरु भएसंगै बिसर्जित श्रीपञ्चमी मेला बिगत ४ बर्षदेखि स्थानीय जुझारु युवाहरुको समुहले भलिबल, फुटबल, महिला तथा पुरुष तानडोरी, नृत्य तथा गायन प्रतियोगिता अनि राष्ट्रिय ख्यातिप्राप्त कलाकारका साथ सांस्कृतिक कार्यक्रम सहित पुर्नजागृत गर्ने कार्य भई रहेको र युवाहरुको जोशलाई स्थानीय वडा प्रमुख, गाउँपालिका प्रमुख लगायत, देश बिदेशमा रहेका मौलिक, संस्कृति र रीति-रिवाजलाई प्रश्रय दिने ब्यक्तिहरुको सहयोगबाट सम्भव भई रहेको छ । स्थानीय ब्यक्तिहरु जो मेलासंग अनन्य सम्बन्ध राख्छन्, बिदेश हङ्गकङ्ग, बेलायत, अमेरिका, अष्ट्रेलिया, अफ्रिका, जर्मन, कोरिया, जापान, इजरायल र बिभिन्न देशहरुबाट सहयोग प्राप्त भएको छ भने भावसागर ईन्टरटेन्मेन्ट एलएलसिका प्रबर्धक अम्बिका गुरुङ्गबाट समेत सहयोग सदभाव निरन्तर प्राप्त भएको छ । गएको साल मेलालाई बिशेष सहयोग गर्नुहुने राकेश उप्रेती, बसन्त थेबे, मण्डल थेबे, अन्जय ईवाराम, सुनिल थेबे, प्रबिण थुपुक्को थेबे, सरु थेबे, खड्ग श्रेष्ठ, भुवन लिङ्गदेन, राम लिङ्गदेन, लाल लिङ्गदेन, तेज बुडाथोकी, भाब सागरका प्रबन्ध संचालक अम्बिका गुरुङ्ग, क्षितिज थेबे, महेन्द्र गौतम, राम कंलिवा लगायत अन्य धेरैले आर्थिक सहयोग गर्नुभएको थियो भने यो बर्ष समेत सबैबाट निरन्तरता हुने आश्वाशन तथा नया सहयोगीको रुपमा साप्लाखु निवासी लक्ष्मी मिश्रबाट रु १००,०००.०० (एक लाख) सहयोगको प्रतिबद्घता भएको छ भने अन्य सहयोगीहरु बरिष्ठ चार्टड एकाउन्टेन्ट महेश गुरागाई, लक्ष्मी श्रेष्ठ, खेम लिङ्गदेन, बिष्णु थेबे, शुशिला थेबे, ललिता थेबे लगायतले मेलालाई सहयोग गर्ने आश्वाशन प्राप्त भएको जानकारी मेला कमिटीले दिएको छ ।

गाउँ, आफु जन्मिएको ठाउँ, हरेक दिन पौडी खेल्ने गरेको त्यो कावेली खोला, सिनाम स्कुल जहाँबाट प्रज्वलित शिक्षाको दियोले हाम्रो नेपालमात्र हैन बिश्वमै परिचय दिने बिध्वत जन्माएको २००७ सालमै स्थापित पूर्बकै शिक्षाको पर्यायवाची नमुना बिद्यालय, सिनामको शिरमा अवस्थित सानो पाथीभरा जहाँ साक्षात देबीको दर्शन र फल पाईने धार्मिक स्थलसम्मले सज्जित स्थानमा लाग्ने अन्य मेलाहरु नाग पञ्चमी, भुमिराज, रमाईलो, माघेनी मेला र हरेक १५ दिनमा पञ्चमी तिथीको दिन पञ्चमी बजारमा लाग्ने गरेका मेलाहरु तत्कालिन स्थानीय शोभाको रुपमा लिईन्छ ।

मेलाको रौनकता तथा स्थानिय कलाकारिताको खोज गर्ने हेतु आयोजकले प्रदान गर्ने पुरस्कार र ट्रफि बाहेक मेलामा स्थानिय कलाकारिताको सम्मानार्थ अष्ट्रेलिया पढ्नको लागी नेपालकै अग्रणी बाबा एजुकेशन कन्सल्टेन्सीले नृत्य र गायनमा प्रथम हुने ब्यक्तिलाई अष्ट्रेलिया पढ्नको लागी आई एलटिएसदेखि सुरुमा लाग्ने बिभिन्न कष्टमा छुट उपलब्ध गराईदिने समेत निर्णय कम्पनीका प्रबन्ध संचालक श्री राजेन्द्र शर्माले उदघोष गर्नु भएको छ भने सम्पूर्ण प्रतिशप्रधिहरुलाई बाबा एजुकेशनको लोगो अंकित कलम मायाको चिनो स्वरुप प्रदान गरिने छ ।

मेलामा फुटबल प्रतियोगिता माघ २४ गते देखि नै हुने भएकोले खेलप्रेमीलाई माघ २३ गते भित्र खेलकुद सम्योजक नबिन अधिकारी (९८१७९५०५५५) मार्फत आफ्नो टिमको दर्ता गरि सक्नुपर्ने छ भने पुरस्कार स्वरुप प्रथमलाई ४१,००० एकचालीस हजार नगद, प्रमाणपत्र र ट्रफि अनि दोश्रोलाई २५,०००.०० पच्चिस हजार, प्रमाणपत्र र ट्रफिको ब्यबस्था छ भने तान डोरीको ईन्ट्रीको उद्घोष मेलामै गर्ने र प्रथम हुने टिमलाई नगद र प्रमाणपत्र प्रदान हुनेछ । गायन तथा नृत्य प्रतियोगिताको ईन्ट्री बाबा राई (९८१३९०२२४५) मार्फत आफ्नो तथा समुहको दर्ता माघ २७ बिहान १० बजेभित्र गरि सक्नु पर्नेछ भने पुरस्कार स्वरुप प्रथम हुनेलाई नगद, ट्रफी, प्रमाण पत्र र बाबा एजुकेशनले प्रदान गरेको अष्ट्रेलिया एजुकेशनको छुट समेत रहनेछ ।

माघ २७ गतेको बिशेष कार्यक्रम बिहान ११ बजेदेखि मध्यरातसम्म रहनेछ भने बिशेष प्रस्तुति साँझ ६ बजेदेखि शुरु हुनेछ भने आयोजक र कलाकारहरुले सम्पूर्ण मेला प्रेमीलाई चुल्हे निम्तो दिदै नाचेर गाएर साथ दिन आग्रह गरेका छन् । यस बर्षको मेलाको रौनकताको रुपमा गायन तथा नृत्य प्रतियोगिता रहने छ भने बिशेष आकर्षणको रुपमा चर्चित गायिका मिना निरौला, गायक ई. बीरेन्द्र श्रेष्ठ, चर्चित बाल कलाकार आयुष र अंशु, बरिष्ठ लोक गायक पूर्ण काम्बाङ्ग, कोरियोग्राफर निरज ठाकुर, बिशाल रशाईलीको बिशेष नृत्य, गायिका तारा लिम्बु,गायक सुमन राई, श्री पंचमी गायन आईडल २०७४ लक्ष्मण भट्टराई (थेचम्बु, आम्मुई नि टेलिशिरियलका हास्य कलाकार टीकाराम अधिकारी उर्फ ठेकिमुण्टे, कुन्शाङ्ग डान्स सेन्टर ताप्लेजुङ्ग, ताप्लेजुङ्ग डान्सिङ्ग स्टार एलिना गुरुङ्ग, मिरिङ्गदेन डान्सिङ्ग स्टार अन्जली लिम्बु, फ्युजन डान्स सेन्टर फिदिम र मुकुबुङ्ग युबा क्लब पाचथरको बिशेष प्रस्तुतिका साथ स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ भने प्रोग्रामको संचालन पूर्वका चम्किला कार्यक्रम प्रस्तोताहरु मिलन बिश्वकर्मा, दिनेश लिखिंम र जलन सुब्बाले गर्नेछन । कार्यक्रमलाई बिशेष सभ्य र भब्य पार्न र बिशेष सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन सास्कृतिक कार्यक्रमका संयोजक बाबा राई (९८१७९५०५५५), मेला कमिटिका अध्यक्ष नेत्र भण्डारी (९८१६०७०१०४) तथा स्थानिय युबाहरु लगायतले बिशेष सक्रियता तथा पहलकदमी भई रहेको जानकारी दिएका छन् ।

गत बर्षको मेलाका तस्वीरहरु

Shree Panchami Bazar

Shree Panchami Bazar

Shree Panchami Bazar

Shree Panchami Bazar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !