२८ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको अभाव हुन थालेपछि अहिले नयाँ पोखरी खन्ने र पानी स्रोतको व्यवस्थापन गर्ने भएको छ ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार पानीका स्रोतमा मिचाहा प्रजातिका झारले ढाक्ने, लेदो र गेग्रानले पुरिने, चुरेबाट झरेका पानीका मुहान बुझिने जस्ता समस्या आएपछि निकुञ्जले पानी स्रोतको व्यवस्थापनमा विशेष चासो दिएका हुन् ।
निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छन् ।
यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्रलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका कीरा फट्याग्रा पाइन्छन् । जसका लागि पानीका स्रोत अपरिहार्य छ ।
अर्यालका अनुसार निकुञ्जभित्र ३७ वटा पोखरी छन् भने मध्यवर्तीमा २१ वटा पोखरी छन् । निकुञ्ज र मध्यवर्तीमा १३ वटा घोल, ३० वटा ताल र प्राकृतिक ताल तथा साना÷साना पोखरी गरेर १५ वटा रहेका छन् । गतवर्ष निकुञ्जले सुखीभार र पदमपुर क्षेत्रमा दुई वटा पोखरी खनेको थियो ।
यसवर्ष थप तीन वटा पोखरी खन्ने योजना रहेको अर्यालले बताउनुभयो । उहाँका अनुसार नयाँ पोखरी खन्ने, भइरहेका पोखरी, ताल र घोलको सरसफाइ र विस्तार जेठ महिनाको पहिलो साताबाट शुरु गरिने छ ।
त्यसैगरी चुरेबाट झरेका खोलाको मुहानको सरसफाइ पनि गरिँदैछ । निकुञ्जमा सबै खालका वन्यजन्तुको संख्या बढिरहेको अनुमान गरिँदा घट्दै गएका पानीका स्रोतलाई समयमै व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो चुनौती देखा पर्नसक्ने भन्दै विशेष चनाखो बनेको अर्यालले बताउनुभयो । निकुञ्ज हुँदै ठूला नदी राप्ती, नारायणी र रिउ बग्ने गर्दछन् ।
निकुञ्ज तराई क्षेत्रमा पर्ने हुँदा अत्याधिक गर्मी हुने गर्दछन् । हिउँदको समयमा गर्मी बढ्ने र पानीका स्रोत सुक्ने हुँदा भएका पानीका स्रोतको व्यवस्थापन आवश्यक हुन्छ ।
विसं २०३० मा स्थापना भएको निकुञ्ज ९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो चितवन, नवलपुरासी, मकवानपुर र पर्सा जिल्लामा पर्दछ । (रासस)