१६ वैशाख, काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यवसाय प्रगति उन्मुख रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा शुल्क आर्जन तथा खुद नाफा बढाएको छ । बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड ३१ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशत बढी हो । गत बर्ष कम्पनीले १० करोड ७४ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रहेको छ भने जगेडा कोषमा ९४ करोड ८२ लाख रहेको छ । जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड, महाविपत्ती कोषमा ८ करोड ४९ लाख राखेको छ । बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा कम्पनीले ३२.५ प्रतिशत बोनसपछि १६० प्रतिशत हकप्रद बिक्री गरेको छ । जुन पूँजीकृत हुन बाँकी छ ।
कम्पनीको खुद बीमा शुल्क १९.२२ प्रतिशत बढेको छ भने र खुद दाबी भुक्तानी १२ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको आम्दानी ३२.३१ प्रतिशतले बढेको छ भने खर्च तथा व्यवस्थाहरु ३०.५६ प्रतिशतले बढेको छ ।
कम्पनीले गत बर्षको यसै अवधिको तुलनामा २३ करोड बढी खुद बीमा शुल्क आर्जन गरेको छ । चैत्रसम्म कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब २२ रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले २४ करोड ८१ लाख रुपैयाँ मात्र दाबी भुत्तानी गरेको छ भने एक करोड ७६ लाख दाबी भुत्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३१.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.३१ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २०.४३ गुणा रहेको छ ।