१९ असार २०८१, बुधबार

यूनाइटेड इन्स्योरेन्सले २४०% हकप्रद निश्कासन गर्ने


United Insurance

३ बैशाख, काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स (UIC) ले बीमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन २४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

कम्पनीले दश सेयर बराबर २४ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रद नियमनकारी निकायबाट स्वीकृत भएपश्चात कम्पनीको आगामीको साधारणसभाले पारित गरेपछि मात्र बिक्रीमा आउनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष चार करोड ९० लाख ८५ हजार रुपैयाँ ऋणात्मक छ । उक्त अवधिमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै ६ महिना अवधिमा कम्पनीले १७ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जुन गत बर्षको तुलनामा दुई करोड ४६ लाख रुपैयाँ कम हो । त्यस्तै कूल बीमा शूल्क ६ करोड ६३ लाख रुपैयाँ घटेर २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको जारी बीमालेख संख्या ३५ हजार ६६४ रहेको छ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक २६ रुपैयाँ ८८ पैसा रहेको छ । उसको बीमा कोषमा १९ करोड ५४ लाख रुपैयाँ तथा महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !