९ असार २०८१, आइतबार

‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका ध्रुवकुमारलाई


१ वैशाख, कैलाली । धनगढी जेसिजद्वारा आयोजित ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका ध्रुवकुमार बुढाले प्राप्त गरेका छन् ।

निर्धारित २१ दशमलव १ किलोमिटरको दूरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पूरा गर्दै नगद ५१ हजार प्राप्त गरेका हुन् । फेसबुकमार्फत वैशाख १ गते ‘धनगढी दौडने’ सूचना पाएका बुढाले निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो बनाएको बताए । ‘जुम्ला निकै विकट छ, लेन मार्फत आउन निकै खर्चिलो छ,’ उनले भने ‘गाडीबाटै दुःख गरेर आएको, अहिले सबै दुःख बिर्सेको छु, यो जित निरन्तरको प्रयास र दृढ विश्वासले दिलाएको हो ।’

बुढाले एसिएन गेमको छनोटमा भागि लिने इच्छा रहेको बताए । ‘सन् २००८ देखि निरन्तर दौडिदै आएको छु, एसियन गेमको छनोटमा पनि दौडन चाहन्छु,’ उनले भने, ‘सूचना नै पाइएन र आउनेजाने भाडा नै भएन भने मात्रै, रोकिन्छ होला नत्र छनोटमा दौडने धोको छ ।’

नेपाली सेनाका हरि रिमालले १ घण्टा ८ मिनेट १ सेकेण्ड र नेपाली सेनाकै लालबहादुर थापाले १ घण्टा ८ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै क्रमशः द्वित्तीय र तृतीय भए । रिमाल र थापाले २५ हजार र १५ हजार रुपैयाँ हात पारे । रिमाल अघिल्लो संस्करणका विजेतासमेत हुन् । त्यस्तैकर्पोरेट तर्फको पाँच किलोमिटर दौडमा भीम चौधरी प्रथम, सिद्धराज जोशी द्वित्तीय र मनमोहन विष्ट तृतीय भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ हात पारे ।

अघिल्ला संकरणमा विभागीय टोलीको बर्चस्व रहँदै आएको यो दौड प्रतियोगितामा यस पटक भने जुम्लाका ध्रुवकुमार बुढाले बर्चस्व तोड्न सफल भए । उनी हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका म्याराथन धावक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !