५ आश्विन २०८१, शनिबार

बालिकाको रहस्यमय मृत्युबारे सरकार उदासिन बनेको थामी समाजको आरोप


thami samaj

३० चैत, काठमाण्डौ । नेपाल थामी समाजले काठमाडौं महानगरपालिका नक्सालस्थित् सानिमा बैंकका सञ्चालक समेत रहेका बविसिंह गड्तौलाको घरमा कामदारको रुपमा बस्दै आएकी १४ वर्षीया रिता थामीको मृत्युबारे सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर गत फागुन २६ गते घटेको उक्त घट्नालाई रहस्यमय भन्दै थामी समाजले सत्यतथ्य बाहिर नल्याए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले मृतक रिता थामीको बारेमा प्रहरी प्रशासन गम्भिर नभएको आरोप लगाएका छन् । उनले भने,‘अत्यन्तै गरिब र अविभावकविहीन १४ वर्षीया बालिका रिता थामीको रहस्यमय निधनले हामी स्तब्ध छौं, हामी धैर्य र शान्त  छौं, सरकारले अझैपनि उक्त घट्नाका बारेमा तल्काल निश्पक्ष परिणाम बाहिर ल्याउन सक्दैन भने हामी चुप लागेर बस्दैनौं।’

उनले अघि थपे,‘बेसहारा बालिकालाई विभिन्न प्रलोभनमा पारेर कामदारको रुपमा घरमा राख्ने अनि शारीरिक, मानसिक रुपमा यातना दिने हत्या गर्ने जस्ता अपराधिक कार्यहरु भईरहेका छन्, यो थामी समुदायकी एउटा अबोध बालिका माथिको अत्याचार मात्रै होईन, यो सम्पूर्ण घरेलु कामदार बालबालिकाको अधिकार माथिको नाङ्गो प्रहार हो, घर मालिकसँग प्रसाशनले लिनुपर्ने पोलिग्राफ रिपोर्टमा श्रीमतिलाई मात्रै समावेश गर्नुले झनै शंका उब्जाएको छ ।’

त्यस्तै कार्यक्रममा समाजका पूर्व अध्यक्ष एव्म सल्लाहकार कविराज थामीले मृत्तक थामीको बारेमा मानव अधिकारवादीहरुले उल्लेख्य भूमिका नखेलेकोमा दुःख व्यक्त गरेका छन् ।

उनले भने,‘प्रहरी प्रशासनले गैर–जिम्मेवारपूर्ण तरिकाले यो मुद्दालाई हेर्दै आयो, मानव अधिकारवादीहरुले पनि खासै चासो देखाउनुभएन्, तीन वटा रिपोर्ट हेर्दा समेत मृत्युको बारेमा एकिन तथ्य नआएपछि हामीले यस घट्नाका बारेमा चलखेल शूरु भएको दाबी गर्दै आएका छौं, घर मालिकका आफन्तले फोनमार्फत पैसामा सहमति जनाउन दवाब दिएका छन् ।’

प्रहरी वृत्त कमलपोखरीले उचित किसिमको कदम नचालेपछि आफूहरुले हनुमान ढोकामा न्यायको लागि गुहार मागेको उनको भनाई थियो । उनले भने,‘त्यहाँ पनि आजका दिनसम्म यस घट्नाको बारेमा कुनै प्रभावकारी काम भएको छैन्, प्रहरी प्रशासनले जाहेरी बुझ्न मानेन, दर्ता गरिएको जाहेरीपनि बेनामे छ, त्यो जाहेरीले शंकास्पद व्यक्तिलाई केरकार गर्न त्यति धेरै काम नगर्ने देखिएको छ, यस्तो स्थितिमा प्रहरी प्रसाशन नै चलखेलमा लागेको हामीलाई भान भैरहेको छ।’

यस घट्नाको बारेमा केन्द्रीय बालकल्याण समिति ललितपुर, कानूनी सहयता तथा परामर्श केन्द्र, ईन्सेक, सिविन, बाल हेल्पलाईन लगायतले अनुसन्धान गरेको रिपोर्टहरुले थामीको मृत्युलाई रहस्यमय घट्ना भनेको थामीको जिकिर छ ।

समाजले आगामी बैशाख २ गते गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, बैशाख ३ गते माइतीघरमा बिरोध प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु आज सार्वजनिक गरेको छ ।

नेपाल आदीवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी महिला महासंघ, नेपाल आदिवासी जनजाति यूवा महासंघ लगायतले घोषित आन्दोलनमा ऐक्यवद्धता जनाएको समाजले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !