१ मंसिर २०८१, शनिबार

महामारीमा तनावका बीच फोटो पत्रकारले कसरी काम गर्ने ?


पत्रकार

काठमाडौँ । कोभिड–१९ को जोखिम र असरबीच कार्यक्षेत्रमा निरन्तर खट्नुपर्ने भएकाले फोटो पत्रकारहरुले सकारात्मक सोचका आफ्ना क्रियाकलापलाई नियमित बनाउनु पर्ने सुझाव दिइएको छ ।

एक सय ८२ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालको फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तरक्रियामा मनोचिकित्सक प्रा डा सरोजप्रसाद ओझाले जीवनशैलीमा परिवर्तन गर्दै स्वस्थ्य रहेर काम गर्न सुझाव दिनुभएको हो । उहाँले परिणामको तनाव नलिई आफ्नो कर्ममा सकारात्मक ऊर्जाका साथ लागेमा मनमा हुने भय हटेर जाने जनाउनुभयो ।

‘नेपाल फ्याक्ट चेक’का सम्पादक उमेश श्रेष्ठले फोटो पत्रकारहरुले ‘स्ट्रेस’ मा काम गर्नुपर्ने भएकाले मनोवैज्ञानिक पक्षमा ध्यान दिइनु आवश्यक भएको उल्लेख गर्दै फोटो पत्रकारहरुले सामग्रीमार्फत् समाजलाई उचित सन्देश दिनुपर्ने बताउनुभयो ।

समूहका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले समाजमा गलत ‘ट्र्याक’ मा गएकालाई पनि फोटोग्राफीबाट सही सोचाइमा रूपान्तरण गर्न सक्ने बताउनुभयो । समूहका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा समूहका महासचिव प्रदीपराज वन्तले महामारीका बीच फोटो पत्रकारहरुलाई मनोवैज्ञानिक परामर्शका लागि कार्यक्रममको आयोजना गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !