काठमाडाैं । मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । यो संगै एआइजीपी विश्वराज पोखरेलसँग प्रहरी महानिरीक्षक (आइजीपी)को प्रतिस्पर्धामा उभिएका छन् ।
गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो । सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान छ ।
मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।
गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसंगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
एआईजी पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । उक्त निर्णयको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो ।
तर संसदीय समितिको निर्देशनलाई वेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गर्यो । हाल पुनः एक एआईजीको दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।