९ पुस २०८१, मंगलबार

हिंसाको कारण मांशाहार : मन्त्री थापा


Sahakari Summit

२७ फागुन, काठमाण्डौ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मांशाहारलाई हिंसाको संस्कृतिको कारण बताउनुभएको छ । काठमाडौंको नेपाल पुलिस क्लबमा शनिवार अयोजित एशीया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलनमा प्रमुख अतिथीका रूपमा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

‘मानव हिंसाको कारण पशु हिंसा पनि हो, यसलाई तत्काल अन्त्य गर्नु आवश्यक छ,’ विगत बीस वर्षदेखि आफैंसमेत शाकाहारी भोजन गरिरहनुभएकी थापाले भन्नुभयो, ‘शाकाहारी संस्कृति अवलम्बन गर्न ढिलो भइसकेको छ ।’

नेपाल शाकाहारी संघ र विश्व शाकाहारी संघको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको उदेश्यलाई मन्त्रीका रूपमा कार्यान्वयन गराउन आफू लाग्नेसमेत मन्त्री थापाले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै स्वास्थ्य तथा वातावरणमन्त्री लालबाबु पण्डितले शाकाहारी अभियानप्रति आफ्नो समर्थन रहेको बताए । ‘शाकाहारी जीवन पैसा र स्वास्थ्यका दृष्टिले समेत उचित हो,’ मन्त्री पण्डितले भन्नुभयो ।

आजसम्म चल्ने सो सम्मेलनमा शाकाहारी भोजनले मानव स्वास्थ्यमा पार्ने सकारात्मक असरबारे छलफल भइरहेको छ ।

माछामासु, दहीदूध, घिउसमेत नखाइकन सगरमाथा चढेका भारतका कुन्तल जोइसरले समेत सम्मेलनमा आफ्नो धारणा व्यक्त गरेका थिए । उनले भने, ‘स्वास्थ्य र बलका लागि माछामासु र दहीदुध खानु आवश्यक छैन । जर्मनीका प्याट्रिक बोबुमियान नामक व्यक्ति केवल सागपात, फलफूल र अन्नमात्र खान्छन् र उनी संसारकै सबैभन्दा बलियो मान्छे हुन् ।’ अमेरिकी व्यापारी तथा भिगन अभियन्ता फिलिप निकोजाइसिसले कार्यक्रममा आफ्नो कार्यपत्र पेश गर्दै भने, ‘वातावरण, अध्यात्म, करुणा र स्वस्थ्य जीवनका लागि वनस्पतीजन्य भोजनामात्रै विकल्प हो । पूर्ण शाकाहारी (भिगन) खाना खाए क्यान्सरजस्तो रोगसमेत जित्न सकिन्छ,’ निकोजाइसिसले आधुनिक चिकित्साका पिता हिप्पोक्रिटिजले खानालाई औषधी मान्नुको कारण उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संसार बदल्नुपर्ने बेला भइसकेको छ ।’

कार्यक्रमममा शाकाहारबारे प्रवचन, व्याख्या र कार्यपत्र प्रस्तुतीसँगै शाकाहारी भोजनहरूका स्टलमा अनौठा शाकाहारी भोजन खाने व्यवस्था छ । वनस्पतीबाट बनेका ‘शाकाहारी मासु’ समेत सम्मेलनमा बिक्रीमा राखिएका छन् । कार्यक्रममा विभिन्न देशका पोषणविद, शाकाहारी अभियन्ता र वैज्ञानिकहरू समेत सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !