बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गर्नका लागि यहाँ ट्रमा कर्नर निर्माण गरिँदैछ । पाटन नगरपालिका–८ खोड्पेमा कर्नरको भवन निर्माण कार्य शुरु गरिएको हो । सङ्घीय सरकारले सो नगरपालिकालाई ट्रमा कर्नर निर्माणका लागि बजेट पठाएपछि ट्रमा कर्नर निर्माणको काम शुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।
बैतडीसहित दार्चुला, बझाङ र डडेल्धुराको केन्द्र पर्ने भएकाले खोडपेमा ट्रमा कर्नर निर्माण शुरु गरिएको हो । चालु आर्थिक वर्षमै भवन निर्माण गरिसक्ने लक्ष्यअनुसार ट्रमा कर्नर निर्माणको जिम्मा पाएको अर्चना निर्माण सेवाले काम गरिरहेको हो । सङ्घीय सरकारले ट्रमा कर्नरका लागि रु ५० लाख बजेट पठाएको र त्योमध्ये रु ३५ लाख भौतिक निर्माणमा खर्च हुनेछ । बाँकी रकम औजार उपकरण खरीदमा खर्च हुने जनाइएको छ ।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले २०७६ माघमा यहाँ आएका बेलामा गरेको प्रतिबद्धताअनुसार ट्रमा कर्नर निर्माणका लागि बजेट आएको हो । ट्रमा कर्नर सञ्चालनमा आएपछि दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि सहज हुनेछ । सो कर्नरमा घाइतेलाई तत्कालको उपचार र बेसिक लाइफ सपोर्टका लागि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
भवन निर्माण भएपछि तत्कालका लागि सिद्धेश्वर स्वास्थ्यचौकी मातहत राखेरै ट्रमा कर्नर सञ्चालनमा आउने नगरपालिकाकाले जनाएको छ । भवन निर्माणको काम भइरहेको भए पनि जनशक्तिका विषयमा अहिलेसम्म केही व्यवस्था हुन नसकेको महराले बताउनुभयो । सिद्धेश्वर स्वास्थ्यचौकी परिसरमा बन्न लागेको तीनकोठे कर्नरमा हाल १२ श्यया, इसिजी एक्स–रे मेशिनलगायत उपकरण राखिने बताइएको छ ।
राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको उक्त कर्नरले चोटपटक लागेका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्रदान गर्नेछ । सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पताल पठाउने गरी राजमार्ग नजीक रहेका स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरका रूपमा विकास गर्न लागेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।
सुर्नया र पाटनका युवाले सञ्चालन गरे निःशुल्क एम्बुलेन्स सेवा
सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका युवाले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरसका बिरामी र अन्य बिरामीलाई महामारीको समयमा अस्पताल पु¥याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन् ।
सुर्नयामा पाताल भूमेश्वर युवा जागरण मञ्च (प्रवास) र नेचुरल अर्गनाइजेशनले संयुक्तरुपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले महामारीको समयमा बिरामीलाई अस्पताल पु¥याउन आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाताल भूमेश्वर युवा जागरण मञ्च (प्रवास)का उपाध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो ।
समस्यामा परेका सुर्नयाका नागरिकलाई सहयोग पु¥याउनका लागि आफूहरुले सो अभियान सञ्चालन गरेको नेचुरल अर्गनाइजेशनका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिनुभयो । अहिलेको समयमा धेरै नागरिक समस्या रहेकाले उनीहरुलाई सहयोग पु¥याउनका लागि प्रयास गरिएको जनाइएको छ ।
यस्तै पाटनका दुई युवाले पनि कोरोना सङ्क्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवा सङ्घका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।
आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस् भनेर उहाँहरु दुवै जनाले जिप भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन् । अहिले कोरोना भाइसको सङ्क्रमण दिन प्रतिदिन फैलिइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य भण्डारीले बताउनुभयो ।