सिमकोट । उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् ।
घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।”
बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उहाँले बताउनुभयो । आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ ।
सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।
हुम्लामा लक्षणबिनाका सङ्क्रमित देखिए
हुम्लाका अधिकांश गाउँपालिकामा भेटिएका व्यक्तिमा कोरोनाका लक्षणबिनाका सङ्क्रमित देखिएका छन् । दोस्रो लहरको कोभिड–१९ देखिएयता अधिकांश सङ्क्रमित लक्षणबिनाका देखिएका हुन् । एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेशनमा बस्दा सङ्क्रमित लक्षणबिनाका देखिएका छन् ।
कोरोना परीक्षण गर्दा सङ्क्रमित पुष्टि भएका हुम्लाका अधिकांश व्यक्ति लक्षणबिनाका देखिएका जिल्ला अस्पतालबाट कोरोनाका बिरामीको उपचारमा संलग्न भएका डा टासी आङ्जु लामाले बताउनुभयो । हालसम्म कोरोना पुष्टि भएर आइसेलेशनमा बस्दै आएका सङ्क्रमित नौदेखि दश दिनमा घर फर्किने गरेका र आएसोलेशन बसाइँको अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको डा लामाले बताउनुभयो ।
हुम्लाका सातवटै गाउँपालिकामा एन्टिजेन किटबाट ९६२ लाई परीक्षण गर्दा १५९ मा पुष्टि भएको थियो । त्यसमा १२४ बिनालक्षणको कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएकामध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र पन्ध्र जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उहाँले बताउनुभयो ।