७ मंसिर २०८१, शुक्रबार

श्रमिता महर्जनको कथा: अटो चलाएर गुजारा


श्रमिता महर्जन

टिस्टुङ । विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उहाँलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो ।

जसोतसो नेपाल फर्किएपछि उहाँलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीका लागि केही त गर्नै प¥यो भन्ने लागेपछि अन्ततः उहाँले यात्रुबाहक अटो किन्नुभयो र नगर क्षेत्रमा चलाउन थाल्नुभयो । अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उहाँको भनाइ छ ।

पहिलोपटक वैदेशिक रोजगारीअन्तर्गत ओमानमा दुई वर्ष बसेपछि उहाँ नेपाल फर्किनु भएको थियो । नेपाल फर्केपछि उहाँले नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गर्नुभयो । तैपनि उहाँलाई विदेश मोहले भने छाडेको थिएन । ‘‘ओमानमा हुँदा प्रवेशाज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ’’, उहाँले भन्नुभयो ।

नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उहाँ फेरि वैदेशिक रोजगारीका लागि कस्सिनुभयो र कुवेत पुग्नुभयो । कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उहाँ घर फर्किने तयारी गर्दै हुनुहुन्थ्यो । त्यहीबीच कोभिड–१९ को महामारी फैलियो । बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु प¥यो । ‘‘सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै रु एक लाख झिकाएर नेपाल फर्किएँ’’, महर्जनले सुनाउनुभयो ।

महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन । केही दिनअघि मात्रै उहाँले अटो किन्नुभएको थियो । अटो चलाउन थालेपछि अहिले उहाँको दैनिकी फेरिएको छ । बिहान उठ्नेबित्तिकै उहाँको अटो यात्रा शुरु हुन्छ । धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्खु क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । ‘‘अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन,’’ उहाँ भन्नुहुन्छ, ‘‘अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर रु एक हजार जोगिने गरेको छ ।’’ थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन् । तीमध्येमा हाल महिला चालक महर्जन मात्र हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !