भदौ ९, काठमाडौँ । नेपाल–भारत वाणिज्य सन्धिले दुवै देशका उत्पादनलाई एकअर्काको बजारमा पारस्परिक प्राथमिकता दिने उल्लेख गरेको छ । सन्धिको व्यवस्थाअनुसार नेपालमा मापदण्ड पूरा गरेर उत्पादित वस्तुले भारतीय बजारमा राष्ट्रिय व्यवहार पाउनुपर्ने हो । तर, भारतीय पक्षबाट बेलाबेलामा गरिने गैरभन्सार अवरोधले निकासी गर्न लागिएको उत्पादन भारतीय नाकामा अलपत्र परेका उदाहरणको कमी छैन ।
एकताका नेपालबाट निकासी हुने वनस्पति घ्यू, तामा, जिंकलगायत उद्योग प्रताडित भएकोमा पछिल्लो समय अलैंची, चिया, अदुवा, जुट, दाल, अम्रिसोलगायतको निकासीमा अनेक खालका अवरोधको सामना गर्नुपरेको निर्यातकर्ता बताउँछन् ।
भारतीय बजारमा जानेमात्र होइन, तेस्रो मुलुकतर्फ निकासी हुने वस्तुमा समेत विभिन्न झमेला सामना गर्नु परेको निर्यातकर्ता बताउँछन् ।
भारतले करीब ५ महीनादेखि प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि अहिले स्वदेशी उद्योगको गोदाममा १ लाख मेट्रिक टन तेल र कच्चा पदार्थ थन्किएको वीरगञ्जस्थित ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । तेस्रो मुलुकबाट ल्याएको कच्चा पदार्थमा ३० प्रतिशत मूल्यअभिवृद्धि गरेर निकासीको सहुलियत पाएपछि फस्टाएका वीरगञ्ज क्षेत्रका १४ ओटा तेल उद्योगको लगानी अहिले जोखिममा परेको उद्योगी रुंगटाको भनाइ छ । ‘भारतमा तेल निकासी हुने भएपछि नयाँ उद्योग थपिए । अधिकांश उद्योगले क्षमता पनि बढाए । भारतले आयात रोकेपछि उद्यमीलाई लगानी डुब्ने चिन्ताले सताएको छ,’ रूङ्गटाले भने । मोरङ–सुनसरी कोरिडोरका तेल उद्योग पनि संकटमा परेका छन् ।
नेपाली अधिकारीहरू फितलो तयारीकै भरमा द्विपक्षीय छलफलमा सहभागी हुने प्रवत्तिका कारण नेपालको हित सधैं कुण्ठित भएको गुनासो निजीक्षेत्रको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मदन लम्सालले लेखेका छन् ।