१५ आश्विन २०८१, मंगलबार

शहीद अविरल उद्यान बन्दै


पाल्पा, २४ असार । तिनाउ गाउँपालिका–२, दोभानमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वमा पाल्पा सत्यवतीका १४ वर्षीय बालकलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।

शहीद अविरलका सम्झनामा अविरल उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन लागिएको गाउपालिकाले जनाएको छ । तिनाउ गाउँपालिका–२, दोभानले चालु आर्थिक वर्ष २०७६।०७७ सम्म रु २८ लाख लगानीमा उद्यान निर्माण थालेको हो । उद्यानभित्र अविरलको शालिक निर्माण गरिएको छ ।

उद्यानभित्र गोली लागेको ढुङ्गा सुरक्षितसाथ राखिएको छ । उद्यान क्षेत्रमा शौचालय, ट्रस र खानेपानीका धारा निर्माण गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । साना बालबालिकालाई रमाउन उद्यानमा मनोरञ्जनको व्यवस्था गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

स्थानीय बासिन्दा चक्रव्यूह थापाले उद्यान निर्माणले शहीद अविरलको सम्मान भएको बताउँदै सो क्षेत्र आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

तिनाउ गाउँपालिका क्षेत्रमा धार्मिक तथा पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्य बनाउन सकिने गरी आगामी आर्थिक वर्ष २०७७।०७८ मा कार्यक्रम ल्याइएको छ । पालिकाले सिद्धबाबा मन्दिर, नुवाकोट, सत्यवतीताल, सुकेताल, वसन्तपुर, गड्डा, हात्तीकोट, भ्mयाङ्ला, जन्तिलुङ, मरामकोट, झिगामारा, ठुलिउदाङ र गिन्टार कचलफाँट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने छ ।

रामापिथेकस उद्यान प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । नुवाकोटमा उजिरसिंह थापा, मणिमुकुण्दसेन स्मृति उद्यान, सांस्कृतिक डबली निर्माण सम्पन्न गर्न थप सहयोग गरिने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !