७ बैशाख २०८१, शुक्रबार

पोखरामा बुद्ध, निशान र प्रतापको लाइभ कन्सर्ट हुने


असोज २६, कास्की | पोखरामा आगामी शनिबार नेपाल आइडल कन्सर्ट हुने भएको छ । इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनलले पोखराको जक्शन डटकमसँगको सहकार्यमा यो कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दाससँगै उत्कृष्ट १० मा परेका सागर आले र सन्ध्या जोशीको प्रस्तुती रहने आयोजकले बताएको छ । नेपाल आइडलको ग्राण्ड फिनालेपछि राष्ट्रियस्तरमा कन्सर्ट हुन लागेको यो पहिलोपटक हो ।

‘खासगरि आइडलका विजेता बुद्ध लामाको गृहनगर भएकोले पनि पहिलोपटक कन्सर्ट पोखरामै गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । सँगै पोखरेलीहरुको डिमान्डलाई पनि हामीले नजरअन्दाज गर्न चाहेनौँ ।’ इभेन्ट कम्पनी मुन्टेज इन्टरनेशनलका कार्यकारी निर्देशक दिलिप न्यौपानेले भने–‘नेपाल आइडलप्रति यहाँको दर्शकको क्रेज देख्दा पोखरामा यो कन्सर्ट निकै भव्य हुने हामीले अनुमान गरेका छौँ ।’ नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने कन्सर्टको लागि अन्तिम चरणको तयारी भैरहेको आयोजकले बताएको छ । यतिखेर कन्सर्ट स्थललाई निकै भव्य तवरले सजाईरहेको उसले जानकारी दिएको छ । ‘अन्तराष्ट्रिय फ्रेन्चाइज नेपाल आइडलको स्तर अनुसारकै स्टेज र दर्शकको लागि पनि उत्तिकै व्यवस्थित फ्लोर बनाईरहेका छौँ ।’ कन्सर्टका लागि साझेदार स्थानिय जक्शन डटकमका व्यवस्थापक अरुण गिरीले भने–‘कन्सर्टमा सहभागीले केहि फरक अनुभूति गर्न सक्नेछन् ।’

कन्सर्ट हुने दिन शनिबार दिउँसो २ बजेदेखि गेट खुल्ने आयोजकले बताएको छ । विजेता सहितको यो कन्सर्टमा नेपाल आइडलकै होस्ट सुशिल नेपाल र निशा पन्थिले ‘एमसी’ गर्नेछन् । कन्सर्टका लागि यतिबेला आयोजकले पोखराको ४ वटा स्थानबाट टिकट बिक्रि गरिरहेको छ । महेन्द्रपुल, बगर, न्यूरोड र लेकसाईडको सडक छेऊमा ‘बुथ’ तयार गरेर टिकट विक्रि भैरहेको आयोजकले बताएको छ । दिउँसो ४ बजेदेखि शुरु हुने कन्सर्ट साँझ ८ बजेसम्म चल्ने आयोजक कम्पनीले जानकारी दिएको छ । मुन्टेज इन्टरनेशनलले पोखरासँगै यो कन्सर्ट उर्लाबारीमा समेत गर्ने जनाएको छ । असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुनेछ । त्यस्तै ‘नेपाल आइडल, वल्र्ड टुर’को क्रममा नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !