१७ असार २०८१, सोमबार

कोरोना विरुद्धको खोपको पहिलो परीक्षण सफल भएको दावी


कोरोना भाइरस विरुद्धको खोप

एजेन्सी, ६ जेठ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । सुरक्षा परीक्षणमा भाग लिएका ८ जनाको शरीरमा कोरोना भाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ।

शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस संक्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ। अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस संक्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोना भाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन् । एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

सो खोप कोरोना भाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा संक्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ । अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो ।

तर ४५ जनामा गरिएको परीक्षणमा ८ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो । बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ। सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो ।

सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो । मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ । मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !