११ आश्विन २०८१, शुक्रबार

ज्येष्ठ र मानसिकरोगीलाई निःशुल्क औषधि वितरण


Medicine

रसुवा, २५ वैशाख । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा बसोबास गर्ने दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण भएको छ । कालिकाका अध्यक्ष सीतादेवी पौडेलका अनुसार नियमित औषधि सेवन गर्ने दीर्घरोगीले लकडाउनका कारण व्यक्तिगत रूपमा त्यस्ता औषधि व्यवस्थापन गर्न नसक्ने भएका कारण संस्थागत रूपले उच्च रक्तचाप एवं मधुमेहको औषधि निःशुल्क प्रदान गरिएको हो ।

औषधिको सुविधा प्राप्त गर्ने एक सय ज्येष्ठ नागरिक छन् । उनीहरूलाई चिकित्सकले प्रमाणित गरेको सिफारिसका आधारमा औषधि उपलब्ध गराइएको उक्त गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार विभिन्न प्रकारका औषधि गत वर्षदेखि नै गाउँपालिकाले आफ्ना क्षेत्रका नागरिकलाई निःशुल्क वितरण गर्दै आएको छ ।

सेवा प्रवाहअन्तर्गत आफ्नो गाउँपालिकाले उपचार सेवालाई पहिलो प्राथमिकतामा राखेको र ज्येष्ठ नागरिक, महिला र बालबालिकाको उपचार सेवाका लागि आफूले पहिलो प्राथमिकता दिँदै आएको गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेलले बताउनुभयो ।

यसैबीच लकडाउन अवधिमा सुत्केरी व्यथाले छट्पटिएका दुई जनालाई काठमाडौँको सुविधासम्पन्न अस्पतालमा लानेल्याउने कार्यका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गर्भवतीका लागि भने स्थानीयस्तरमै दक्ष चिकित्सकको व्यवस्था मिलाई १४ जनालाई निःशुल्क रूपले भिडियो एक्सरेमार्फत स्वास्थ्य परीक्षण गराइएको बताइएको छ । मानसिक रोग भएका दीर्घरोगीलाई निःशुल्क औषधि व्यवस्थापन गर्ने नीतिअनुसार गाउँपालिकाका २८ स्थानीय बासिन्दालाई नियमित औषधि वितरण भइरहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा मानसिक रोगी १६ पुरूष र १२ महिला रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !