१२ असार २०८१, बुधबार

खच्चरबाट सहुलियतमा खाद्यान्न ढुवानी


रुकुमपूर्व, २३ वैशाख । बन्दाबन्दी लम्बिँदै गएपछि रुकुम(पूर्व)को दुर्गम क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाले सबै वडामा सहुलियत दरमा चामल र नुन ढुवानी सञ्चालन गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको खाद्यान्न अभाव पूर्ति गर्न सहुलियत दरमा गाउँगाउँमा चामल र नुन पठाइएको हो ।

गाउँपालिकामा सामान ढुवानी गर्न त्यति सहज भने छैन । सडक पुगेका ठाउँमा गाडी र नपुगेका ठाउँमा घोडा र खच्चरमार्फत सामान ढुवानी गरिएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । चौध वटा वडा रहेको पुथाउत्तरगंगा– १०, ११, १२, १३, र १४ मा मात्र सडक सुविधा पुगेको छ । अन्य वडामा भने खच्चरबाट चामल र नुन ढुवानी गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो पुथाउत्तरगंगामा गाउँपालिकाको केन्द्रबाट कुनै वडामा पुग्न तीन दिन लाग्छ । घोडा खच्चरमार्फत वडा नम्बर २ को पेल्मामा तीन दिन लगाएर चामल र नुन पु¥याइएको उपाध्यक्ष शाहीले बताउनुभयो ।

दाङबाट ल्याइएको ३४० क्विन्टल चामल र साल्ट ट्रेडिङ कर्पोरेशन रुकुमकोट वितरण केन्द्रले पठाएको दुई सय क्विन्टल आयोडिनयुक्त नुन गाउँपालिकाले आफ्नै ढुवानी खर्चमा सबै वडामा पु¥याएको हो ।
बन्दाबन्दीका समयमा विभिन्न ठाउँमा खाद्यान्नमा मूल्य वृद्धि भएको समाचार आइरहँदा गाउँपालिकाले भने निःशुल्क ढुवानीमा गाउँगाउँमा चामल र नुन पठाएको हो ।

गाउँपालिकाले गत आइतबारदेखि चामल र नुन ढुवानी शुुरु गरेको थियो । लगभग दुई साता लगाएर सबै वडामा चामल र नुुन पठाइएको छ । गाउँगाउँमा पु¥याइएको चामल प्रतिक्विन्टल रु चार हजार ८१२ र प्रतिपोका नुन रु १० बिक्रीवितरण भइरहेको उपाध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिकाले निःशुल्क ढुवानीसहित गाउँगाउँमा सहुलियत दरमा चामल र नुन पु¥याएपछि नागरिक खुशी छन् । बन्दाबन्दीमा खाद्यान्न उपलब्धताको असहजतालाई झेलिरहेका नागरिकले गाउँमै सहुलियत दरमा चामल र नुन पाएपछि सहज भएको वडा नं २ पेल्माका वीरभान बुढाले बताउनुभयो ।

यसैगरी सिस्ने गाउँपालिकाको वडा नम्बर १ प्वाङ र वडा नम्बर २ सिस्नेमा पनि खच्चरमार्फत नै खाद्यान्न ढुवानी हुने गरेको छ । ती वडाले घोडा खच्चरमार्फत खाद्यान्न ढुवानी गरेर विपन्न परिवारलाई राहत पनि वितरण गरिसकेका छन् । वडा नम्बर २ का केही भागमा सडक पुगे पनि ढुवानीका सवारी साधन भने चल्न सकेका छैनन् । वडा नं १ मा भने अझै सडकको सुविधा पुगेको छैन । बन्दाबन्दीमा वडामा खाद्यान्न अभाव हुन नदिन घोडा खच्चरमार्फत सामान ढुवानी गरिएको वडा नं १ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !