२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् ।
त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् ।
त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् ।
ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् ।
नतिजा हेर्नका लागि
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।
कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।
यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
श्रोत : एजेन्सी