११ आश्विन २०८१, शुक्रबार

‘हाई अलर्ट’ मा राख्दै विशिष्ट पाहुना आएकै झल्को दिने गरी चिनियाँ विमानको ‘रेकी’


१६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ ।

बोइङ विमानको उडान र अवतरणमा आउन सक्ने सम्भावित प्राविधिक कमी–कमजोरीबारे चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो ।

बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

पूर्वअभ्यासकै लागि बुधबारको एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरी र विमानस्थलका कर्मचारीलाई अन्य दिनमा भन्दा बढी ‘हाई अलर्ट’ मा राख्दै विशिष्ट पाहुना आएकै झल्को दिने गरी खटाइएको थियो ।

बेइजिङबाट आएको विमान १ बजेर ३५ मिनेटमा अवतरण गरेर दिउँसो साढे ३ बजे फर्किएको थियो । सो विमान अवतरण हुने समय आसपासमा अन्य विमान उडान र अवतरणमा समेत रोक लगाइएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु