सन्तोष शर्मा, बनियानी, १८ भदौ । बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न मुश्किल पर्छ । कारण हो, न्यून दृष्टिको समस्या । उनलाई कलिलै उमेरमा मोबाइलमा ‘गेम’ खेल्ने लत बस्यो । परिणामतः उनको आँखाको ज्योति कम भयो । उनले अहिले माइनस १।५ क्षमताको चश्मा लगाउने गरेकी छन् ।
सहाना जस्तै बिर्तामोड–४ का १२ वर्षीय दिपेश बस्नेतलाई पनि न्यून दृष्टिको समस्या छ । राति अबेरसम्म मोबाइलमा गेम खेल्ने लतका कारण उनी सानै उमेरमा माइनस २।५ को चश्मा लगाउँछन् । कक्षा–७ मा अध्ययनरत उनको कक्षामा उनीजस्तै न्यून दृष्टि भएका सात सहपाठी छन् ।
प्रविधिको चामत्कारिक विकाससँगै सहाना र दिपेशको जस्तो अधिकाँश बालबालिकामा न्यून दृष्टिको समस्या देखिने गरेको छ । एकोहोरो र लामो सयमसम्म मोबाइल, ट्याब्लेट, ल्यापटप, कम्प्युटरमा गेम खेल्ने, भिडियो हेर्ने गरेका कारण बालबालिकामा न्यून दृष्टिको समस्या बढ्दै गएको नेत्र चिकित्सक बताउँछन् ।
दिव्यज्योति आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ डा मोनिका कर्माचार्य बढ्दो प्रविधिको प्रयोगले अधिकाँश बालबालिकामा आँखामा समस्या देखिने गरेको बताउनुभयो । उहाँका अनुसार बालबालिकामा न्यून दृष्टि हुनुका साथै टेढोपन, सुख्खापन, एजर्ली लगायतका समस्या पनि देखिने गरेको छ ।
“लामो समयसम्म बालिबालिकाले मोबाइल, ट्याब्लेट चलाउँदा आँखामा समस्या हुन्छ,” उहाँले भन्नुभयो – “त्यसले बालबालिकामा शारीरिक रुपमा पनि असर गर्छ ।” लामो समयसम्म निहुरिएर मोबाइल, ल्यापटप चलाउँदा घाँटी र मेरुदण्डमा समेत समस्या देखिने गरेको उहाँले बताउनुभयो ।
विभिन्न विद्यालयमा आँखा शिविर सञ्चालनका क्रममा अधिकाँश बालबालिकामा आँखाको समस्या भएको पाइएको उहाँले अनुभव सुनाउनुभयो । हातको औँलासँग मस्तिष्कको ‘कनेक्सन’ हुने भएकाले पनि बालबालिकाले लामो समयसम्म एकोहोरो मोबाइल चलाउँदा मानसिक विकासमा समेत अवरोध हुने उहाँको ठम्याइ छ ।
विद्यालय उमेरका बालबालिकामा बढ्दो प्रविधिको प्रयोगले आँखाको समस्यासँगै पढाइमा समेत असर पुग्ने गरेको छ । बालबालिकाले गेम खेल्न र भिडियो हेर्नमै अधिकाँश समय खर्चने गरेका कारण अध्ययनमा रुचि कम हुन्छ । यस्तो लत बसेका बालबालिकालाई पढ्न भने पनि नटेर्ने, झगडा गर्ने, रुने अभिभावक बताउँछन् ।
“पढ्न अ¥हाउँदा छोराले झगडा गर्छ,” बिर्तामोड–७ की चन्द्रकला कार्कीले भन्नुभयो – “पढ्न पटक्कै मन गर्दैन, खाली मोबाइल र ल्यापटप चालउँछ ।” छोराको पढाइको चिन्तासँगै आँखा बिग्रिने हो कि भन्ने पिरलो उहाँलाई छ ।
अभिभावक नै दोषी
अभिभावकले बालबालिकालाई भुलाउन शुरु–शुरुमा मोबाइल दिँदा उनीहरुमा लत बस्ने गरेको डा कर्मचार्य बताउनुहुन्छ । उहाँल भन्नुहुन्छ – “बालबालिका भुलाउन मोबाइल दिँदा त्यही कुरा समस्याको रुपमा आउँछ भन्ने अभिभावकलाई पत्तै हुँदैन ।”
अभिभावकले बालबालिकालाई भुलाउन यस्ता उपकरण दिनुभन्दा बाहिरी खेलकूदमा सहभागी गराउनु पर्ने उहाँको सुझाव छ । बालबालिकालाई मोबाइल दिनुको साटो चित्रकला, घरभित्र र बाहिर खेल्न मिल्ने बुद्धिचाल, क्यारेमबोर्ड, क्रिकेट, फुटबल, ब्याडमिन्टन जस्ता खेल खेल्न प्रोत्साहन गर्नुपर्ने नेत्र विशेषज्ञ चिकित्सकहरु सुझाउँछन् ।
आँखा आधारभूत स्वास्थ्य सेवा
स्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूदन कोइरालाले आँखा आधारभूत स्वास्थ्य सेवा भित्र पर्ने बताउनुहुन्छ । “राज्य पुनःसंरचनापछि आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले हेर्नुपर्छ,” उहाँले भन्नुभयो – “कतिपय पालिकाले यो कुरा बुझेका छैनन् ।”
केही वर्ष अघिसम्म प्रविधिको व्यापकता र त्यसमा बालबालिकाको पहुँच नभएकाले पनि समस्या त्यति जटिल नदेखिएको उहाँको अनुभव छ । “पछिल्लो समय बढ्दो प्रविधिको विकास र प्रयोगले बालबालिकामा आँखाको खराबी बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।
स्थानीय स्तरमा खुलेका आँखा अस्पतालले वर्षमा एकपटक आफ्नो प्रभाव क्षेत्रभित्र कम्तीमा एकपटक ‘मोबाइल क्लिनिक’ सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख कोइरालाले बताउनुभयो । “आवश्यकतानुसार स्थानीय तह, एनजिओ, आइएनजिओ वा कुनै सङ्घसंस्थाको सहकार्यमा जति पटक पनि गर्न सक्छन्,” उहाँले भन्नुभयो – “कसैले नभने पनि एकपटक चाहीँ गर्नै पर्छ ।”
बालिबालिकाको आँखाको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले प्रत्येक ६/६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने गरेको छ । बालबालिकामा आँखासम्बन्धी रोग रतन्धो ९राति आँखा नदेख्ने० को निदानका लागि प्रत्येक वर्षको वैशाख ६ र ७ गते तथा कात्तिक महिनाको २ र ३ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने गरिएको प्रमुख कोइरालाले बताउनुभयो ।
डाक्टरको सुझाव
नेत्र चिकित्सकहरुका अनुसार बालबालिकालाई हरिया सागपात, फलफूल खान दिँदा आँखाको समस्या हुने सम्भावना कम हुन्छ । बालबालिकामा आँखाको समस्या हुँदैन भन्ने आमबुझाइ हुनु र बालबालिकालाई समेत आफ्नो आँखामा समस्या भएको बारे जानकारी नहुनुले पनि बालबालिकाको आँखाको बिग्रिने गरेको उनीहरु बताउँछन् ।
बालबालिकालाई घर बाहिरका तयारी खाजा (जंकफुड) खुवाउनु भन्दा घरायसी खानेकुरामा खुवाउन जोड दिनुपर्ने, खेतबारीमा फलेका तरकारी र पहेँला फलफूल खुवाउने, बालबालिकालाई लामो समय मोबाइल, कम्प्युटर तथा टेलिभिजनमा झुम्मिन नदिने, विद्यालय भर्ना गर्नुअघि आँखा जाँच गर्ने, वर्षमा कम्तीमा एकपटक बालबालिकालको आँखा जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
झापामा आधा दर्जनभन्दा बढी साना तथा ठूला आँखा अस्पताल सञ्चालनमा छन् । मेची आँखा अस्पताल, मेची दिव्यज्योति आँखा अस्पताल, मेची नेत्रालय, दृष्टि आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल यीमध्ये केही हुन् । यी अस्पतालमा नेपाली तथा भारतीय गरी दैनिक एक हजार ५०० देखि २ हजार जनासम्मले सेवा लिने गरेको अनौपचारिक तथ्याङ्क छ ।