९ आश्विन २०८१, बुधबार

‘किबीका राजा’ पाइजा


Nepalpatra

खेमराज गौतम, गलकोट, १७ भदौ । धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफै उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा अपवाद हुनुहुन्छ । उहाँ अध्यक्षमा निर्वाचित भए पछि पनि कृषि कर्ममा समर्पित हुनुहुन्छ ।

विसं २०५८ मा एक हजार ५०० रुपैयाँमा खरिद गरेका पाँच वटा किबीका बोटबाट किबी खेती शुरु गर्नुभएका पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । आधाजसो बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबीको फल लाग्दैछ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय पाइजा कृषि कर्ममा लाग्दा लाग्दै गाउँपालिका अध्यक्ष हुनुभएको थियो । गाउँपालिकाको काम सकेर बिहान बेलुका खेतबारीमै काम गर्नुहुन्छ उहाँ । सिङ्गो गाउँपालिकालाई नै किबीमय बनाउने उहाँको योजना छ । उहाँ अध्यक्षमा निर्वाचित भएर आएदेखि यता वर्षेनी सयांै किबीका बिरुवा किसानलाई वितरण गर्नुहुन्छ । कृषि क्षेत्रमै अध्ययन अनुसन्धान गर्नुभएका कारण उहाँले अन्य कृषकलाई पनि नगदे बालीमा जोड दिन सल्लाह दिनुहुन्छ । “गाउँपालिका अध्यक्ष भएपछि केही व्यस्त हुन पुगेको छु,” अध्यक्ष पाइजाले भन्नुभयो – “काम सक्दा घर, खेतबारी मै व्यस्त हुन्छु ।” दाम्पत्य जीवनमा जस्तै उहाँलाई कृषि कर्ममा पनि श्रीमती मनकुमारीको दरिलो साथ छ । दुई छोरा भने कामको सिलसिलामा बाहिरै हुन्छन् ।

समुद्री सहतदेखि २ हजार ३०० फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा उहाँले किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेदका बोट रोप्नुभएको छ । “मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर गिज्याउँथे लामो समय नफल्ने बोट लगाएको भनेर, मकै कोदो हुने बारी मास्यो, बौलायो पनि भने,” उहाँले भन्नुभयो – “अहिले तिनै गाउँलेहरुले कोदो मकैको ठाउँमा किबी खेती गर्न थालेका छन्, विस्तारै परिवर्तन हुँदै गएको छ ।”

उहाँको किबी खेती देखेर गाउँकै जीतबहादुर पाइजा, लालमया बुढासहित ४० भन्दा बढीले किबी खेती गर्न थालिसकेको पाइजाले जानकारी दिनुभयो । पाइजालाई गाउँलेले ‘किबीका राजा’ समेत भन्ने गरेका छन् ।

बडिगाड गाउँपालिकालाई किबी खेतीमा जिल्लाभरमै अब्बल बनाउन गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा रु ५ लाखको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले कृषकहरुलाई किबीका विरुवा वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । “अध्यक्षज्यूको व्यावसायिक कृषिमा निकै जोड छ, आफंै कृषि कर्ममा सक्रिय भएका हिसाबले पनि बजेट प्राथमिकीकरणमा कृषि नै भन्नुहुन्छ,” सुवेदीले भन्नुभयो – “यसले गाउँपालिकालाई कृषिबाट समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।” गाउँपालिकाले छुट्टाएको बजेटबाट कृषकहरुलाई तीन हजार ५०० किबीका बिरुवा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । फस्टाएको एक बोटबाटै एक पटकमा २०० केजीसम्म फल लिन सकिने लाभदायी फल किबीलाई विस्तार गर्न सके राम्रो आम्दानी समेत गर्न सकिन्छ । यो फललाई विदेश निर्यात गर्न सकिने यथेष्ट सम्भावना पनि रहेकोे सुवेदी बताउनुहुन्छ ।

अध्यक्ष पाइजाको यो वर्ष मात्र १० हजार केजी किबी बिक्री गर्ने लक्ष्य छ । “यस अघिका वर्ष तीन लाखदेखि चार लाखसम्म आम्दानी गर्दै आएको थिएँ,” पाइजाले भन्नुभयो – “यो वर्ष २० लाख रुपैयाँको भन्दा बढी किबी बिक्री गर्ने लक्ष्य छ ।” उहाँका अनुसार किबी प्रतिकेजी ५०० रुपैयाँमा बिक्छ । धेरै मेहनत गर्न नपर्ने तर, राम्रो आम्दानी दिन भएर अहिले बडिगाडलगायत बागलुङ जिल्लाका कृषकहरु किबी खेतीतर्फ अग्रसर भएका छन् । परनिर्भरता हटाउने भए किबी खेती गर्न पाइजा सल्लाह दिनुहुन्छ । हावापानी मिलेमा बोट लगाएको तीन वर्षमै किबीले फल दिन थाल्ने पाइजाको अनुभव छ । किबीको फलबाट सलाद, वाइन, जुस समेत बनाउन सकिन्छ । “किबी फलको फाइदा तथा महत्व बुझ्दै गएका छन् गाउँलेले,” उहाँले भन्नुभयो – “किबी फलको सेवनबाट क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, यौन दुर्बलता जस्ता समस्या हट्ने भएकाले स्वास्थ्यका हिसाबले समेत निकै उपयोगी छ ।”

पाइजाले नगदेबालीका अलावा माहुरी, भैंसी, खरायो, बाख्रा, कुखुरा समेत पाल्नुुभएको छ । “कृषि पेशाले सबैसामु चिनायो, कृषकहरुलाई सल्लाह र साथ दिँदै आएको छु,” उहाँले भन्नुभयो – “कृषि कर्मबाट सबैले चिनेकै कारण गाउँपालिका अध्यक्ष भएँ । परम्परागत खेती प्रणालीमा सुधार गरेर गाउँपालिकाका कृषकलाई आत्मनिर्भर बनाउने योजनामा छु ।” गाउँपालिकाले यस वर्ष मात्र उत्पादनमा आधारित अनुदान दिन एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले एक घर दश फलफूल बिरुवाका दश लाख बजेट विनियोजन गरेको छ ।

पाँच वर्षदेखि किबी खेती गर्दैआउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका कृषक अनन्त बहादुर खड्का किबी थोरै मेहनतमा धेरै आम्दानी गर्न सकिने खेती हो भन्नुहुन्छ । खड्काको बारीमा अहिले ५० वटा बोटमा लटरम्म किबीको फल लागेको छ । यस्तै, तित्याङ्का प्रेम केसी र हीरा केसीले समेत परीक्षण स्वरुप किबी खेती थाल्नुुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !