१२ पुस २०८१, शुक्रबार

घुस लिएको आरोपमा मुद्दा दायर


मुद्दा

काठमाडौँ, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो । आयोगले उनीहरुबाट रु दुई हजार रकम र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो ।

यस्तै आयोगले जिल्ला खेलकूद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्तबहादुर शाहीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला खेलकूद विकास समितिका तत्कालीन अध्यक्ष रावत र कोषाध्यक्ष शाहीले रु एक लाख २० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । खेलमैदान निर्माणमा विनियोजित रकम समितिको बैंक खाताबाट निकासा गरी विद्यालयमा सम्पूर्ण रकम उपलब्ध नगराई हिसाब मिलान गरेर मास्ने नियत राखेको पाइएको आयोगले जनाएको छ ।

आयोगले लेखापरीक्षक बालकृष्ण खरेल र मतियारको भूमिका निर्वाह गर्ने वीरेन्द्रजङ्ग राना क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !