८ आश्विन २०८१, मंगलबार

प्रयोगविहीन सरकारी कार्यालयका ‘गुनासो पेटिका’


Nepalpatra

बाँके, २४ साउन । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र भेटिने गरेकामा पछिल्लो समय सुझाव पेटिका खोले पनि केही नहुँदा पेटिकासमेत खोल्न छाडिएको छ ।

कतिपय सरकारी कार्यालयमा राखिएका ती पेटिका वर्षौंसम्म पनि खोलेको पाइँदैन । कति पेटिकामा माकुराको जालो र बारुलाका ‘घर’ भेटिने गरेको छ । सरकारी कार्यालयका अधिकारीसम्म प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई कार्यालय तथा अधिकारीसँग सम्बन्धित गुनासो, समस्या, सुझाव सजिलो तरिकाले राख्नका लागि व्यवस्थापन गरिएका यस्ता पेटिका अहिले आएर प्रयोगविहीन बन्दै गएका हुन् ।

नागरिकको बढी चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट उजुरी लिने सुझाव पेटिका राखिए पनि कुनै सुझाव तथा गुनासो आएको छैन । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले भन्नुभयो, “सेवाग्राहीको कार्यालय र कुनै कर्मचारीसँग सम्बन्धित गुनासो भए सिधैँ प्रजिअ तथा सहायक प्रजिअ कहाँ आउने भएकाले होला, पेटिकामा गुनासो दिन छाडिएको छ ।”

सूचना प्रविधिको प्रयोग हुन थालेकाले पनि गुनासो तथा सुझाव पेटिकामा गुनासो आउन छाडेको हुनसक्ने बाँके प्रशासनका सूचना अधिकारीसमेत रहनुभएका अर्यालको भनाइ छ । सरकारी कार्यालयमा कामकारवाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतका विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहजताका लागि गुनासो पेटिका राखिएको हो ।

जिल्लामा सबैभन्दा बढी सेवाग्राही हुने र कामको ढिलासुस्तीका बहानामा ‘नजराना’ लिने गरिएको गुनासो आउने मालपोत तथा भूमिसुधार कार्यालयको पेटिकासमेत खाली छ । “कसैले कुनै गुनासो तथा समस्या भए सिधै कार्यालय प्रमुखसँग पुगेर गुनासो पु¥याइने गरिएको छ”, मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले भन्नुभयो, “अब त सामाजिक सञ्जालमार्फत गुनासो पोख्ने र विरोध गर्ने प्रचलन आइसकेको छ ।”

जिल्ला प्रशासन कार्यालय मात्रै होइन नागरिकको चाप बढी हुने मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका अधिकारी बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले कार्यालयको पेटिकामा गत आर्थिक वर्षमा एउटा मात्र गुनासो प्राप्त भएको जानकारी दिनुभयो ।

सरकारी कार्यालयले नागरिक बडापत्र तथा अन्य सबै प्रगति विवरण वेबसाइटमा राख्ने गरेका छन् । कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा पनि उजुरी पेटिकाको प्रयोग हराउँदै गएको सम्बद्ध अधिकारीको भनाइ छ ।

गुनासो तथा सुझाव पेटिका राखिनु राम्रो प्रावधान भए पनि सेवाग्राहीलाई त्यसको महत्वका बारेमा जानकारी गराउन नसक्दा पेटिका प्रयोगविहीन बन्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसको प्रभावकारिताका विषयमा जानकारी गराउन नसक्दा र कार्यालयले उचित प्रयोग गर्न नसक्दा पेटिकाको महत्व घट्दै गएको देखिन्छ”, गैसस महासङ्घ नेपाल बाँके शाखाका अध्यक्षसमेत रहनुभएका शाहले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !