८ आश्विन २०८१, मंगलबार

वर्षात्ले घर भत्किँदा पालमुनि बास


हिउँदे वर्षात्

डोटी, १५ साउन । लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।

वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उहाँको नौ जनाको परिवार पाल टाँगेर बस्न बाध्य भएको छ । साउन महीनाको झरीमा घर भत्किएका पार्कीलाई कुनै पनि निकायबाट अहिलेसम्म कुनै राहत उपलब्ध नभएको स्थानीयवासी बताउँछन् ।

घर भत्किँदा करीब रु तीन लाखको धनमालको क्षति भएको दिलबहादुरका भाइ बाले पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर लगातार झरी परिरहेको छ, घर भत्कियो कहाँ गएर बस्ने बिचल्लीमा छौँ ।” घर भत्किएसँगै उहाँको एक पशुसमेत घरभित्रै परी मरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले घर भत्किएर बिचल्ली भएको विषयमा लिखितरूपमा निवेदन नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर भत्किएको विषयमा लिखित निवेदन आए हामी जिल्ला प्रशासनबाट प्रदान हुने राहत तत्कालै प्रदान गर्नेछौँ ।” डोटीमा करीब चार दिनदेखि लगातार वर्षा भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !