८ आश्विन २०८१, मंगलबार

पूर्वमन्त्री सिंहको अन्त्येष्टि


निधन

सप्तरी, १० साउन । पूर्वमन्त्री चुतुर्भुजप्रसाद सिंहको आज सप्तकोशी नदीमा अन्त्येष्टि भएको छ । सिंहका कान्छा छोरा उपप्राध्यापक सुमनप्रसाद सिंहले आज साँझ उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो ।

जेठा छोरा डा रमणप्रसाद सिंह आज आउन नसकेपछि कान्छा छोराले नै दागबत्ती दिनुभएको परिवारका सदस्य उपप्राध्यापक शेखर सिंहले जानकारी दिनुभयो ।

पञ्चायतकालमा सात वर्षमन्त्री रहनुभएका सिंहको राजविराजस्थित निवासमा आज बिहान ८७ वर्षको उमेरमा निधन भएको हो । पारिवारिक पृष्ठभूमिकाकारण युवा उमेरदेखि नै राजनीतिमा होमिनु भएका उहाँ विस २०१७ मा पञ्चायती व्यवस्थाको स्थापनापछि राजनीतिमा सक्रिय हुनुभयो ।

सिंह पञ्चायतकालीन समयमा जनस्तरमा गहिरो राजनीतिक पकड जमाएका कारण २०१७ सालदेखि २०३२ सालसम्म राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो ।

प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्रिमण्डलमा २०२५ चैत २५ गते निर्माण, सञ्चार र यातायातमन्त्री बन्नुभएका उहाँ त्यसपछि २०३० साउन १ गतेदेखि २०३२ मङ्सिर १४ गतेसम्म प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा उद्योग तथा वाणिज्यमन्त्री रहनुभएको थियो । दर्पनारायण सिंह र कौशल्यादेवी सिंहको कान्छा छोराका रुपमा विसं १९८९ असोज १ गते सप्तरीको साविक बसबिट्टी गाविस–१ हाल रुपनी गाउँपालिका–५ मा जन्मनुभएका सिंहले राजविराजको पविमाविबाट मेट्रिक उत्तीर्ण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष र लायन्स क्लब राजविराजका संस्थापक भई अध्यक्षको भूमिकासमेत निर्वाह गर्नुभएका सिंह २०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य हुनुहुन्थ्यो । सिंहकै संयोकत्वमा २०१६ सालमा मूर्तरुप लिएको रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित जनता माविपछि २०३१ सालमा सिंहकै जग्गामा स्थापना गरिएको विद्यालयले जनाइएको छ ।

सिरहा जिल्लाको नरहारिगौलमा लक्ष्मीनारायण कौशल्या मावि स्थापना गर्नुभएका सिंहले राजविराज–रुपनी सडकखण्डको निर्माण तथा राजविराजको दुरसञ्चार र राजविराज औद्योगिक क्षेत्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पूर्वमन्त्री सिंहका दुई छोरा र एक छोरी हुनुहुन्छ । पछिल्लो समय सिंह रक्तचापबाट पीडित हुनुहुन्थ्यो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !