३० कार्तिक २०८१, शुक्रबार

लोकमार्गभरि हिलो र पहिरोको सास्ती


लक्ष्मीप्रसाद सापकोटा, पर्वत, ९ साउन । यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ ।

गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ । त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।

सडकमा साना–ठूला सवारी चाप बढ्दो छ । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् । “हिँड्दाहिँड्दै भ्याप्लेखोला नजिकै ठूलो पहिरो खस्यो”, कुश्माका गोपी सुवेदीले भन्नुभयो, “सडक तीन घण्टा खुलेन, पोखरा पुग्दा मध्यरात भयो ।” राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।

मनसुन शुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन । “धेरैपटक गुड्दागुड्दै ट्याक्सी पुरिएका छन्”, ट्याक्सी व्यवसायी भीम क्षेत्रीले भन्नुभयोे, “पानी पर्दा हिँडिसाध्य छैन ।” सामान्यतया डेढदेखि दुई घण्टाको कुश्मा–पोखराको यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने उहाँले भन्नुभयो ।

सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उहाँले बताउनुभयो । कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै विन्ध्यवासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेला–बेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ । सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धवलागिरिका यातायात व्यवसायी आजित बनेका छन् । सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–विन्ध्यवासिनी सडक मूल सडकभन्दा सात किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ ।

गत असारसम्म मुख्य सडक कालोपत्र सक्ने लक्ष्यका साथ काम गरेको मध्यपहाडी आयोजनाले भने विभिन्न बहाना बनाउँदै बेला–बेलामा काम रोक्दै आएको छ । गत वैशाखयता वन मन्त्रालय र विद्युत् प्राधिकरणले काम गर्ने वातावरण नबनाएको भन्दै आयोजनाले केही समय काम रोकेको थियो । आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापामगरले विद्युत् प्राधिकरणले सडकछेउका पोल हटाउन नमान्दा काममा ढिलाइ भएको बताउनभयो । त्यससँगै निर्माण सामग्री निकाल्न सामुदायिक वनले नदिँदा पनि समयमा काम नसकिएको उहाँको आरोप छ ।

उता कालीगगण्डकी लोकमार्गको अवस्था पनि दयनीय रहेको छ । बहुवर्षीय योजनाअन्तर्गत झण्डै एक दशकदेखि निर्माण भइरहेको उत्तर–दक्षिण जोड्ने सडक अझै सम्पन्न हुनसकेको छैन । सडक स्तरोन्नति नहुँदा वर्षायाममा ठप्पजस्तै हुने गरेको छ । यतिबेला सडकका अधिकांश भागमा पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका तीन स्थानीय तहको सदरमुकामसँग सम्पर्क टुटेको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत श्रीकाङ, खबरा, कर्नास, लमाएलगायतका स्थानमा पहिरो र लेदोले सवारी गुडाउन समस्या छ ।

पातीखोला जलविद्युत आयोजना सञ्चालन

स्थानीय बासिन्दाको विरोधका कारण बन्द रहेको एक मेगावाट क्षमताको पर्वतको पातीखोला जलविद्युत् आयोजनामा हिजो साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको छ । पर्वतको मोदी गाउँपालिका–२ ढाँडखेतमा रहेका प्रसारण लाइनका पोल स्थानान्तरण गर्ने सहमतिसँगै पाँच दिनपछि विद्युत् उत्पादन शुरु भएको हो । विद्युत् उत्पादन बन्द हुँदा आयोजनाका कर्मचारी चार रातसम्म विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका थिए ।

आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । मोदी गाउँपालिका–२ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युत्का तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका थिएनन् । प्रसारण लाइनको एउटा पोलमा बिग्रेको कण्डक्टर मर्मत गरेपछि विद्युत् उत्पादन सञ्चालन भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताउनुभयो ।

“प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प भएको थियो”, प्रबन्ध निर्देशक कोइरालाले भन्नुभयो, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैनबत्ती बालेर विद्युतगृह कुर्दै आएका थिए ।” तत्कालका लागि विद्युत् उत्पादन शरु गर्ने र पछि स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि केही पोलहरु परिर्वतन गर्ने सहमति मोदी गाउँपालिकामा भएको हो । वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यर्होन बाध्य भएको थियो । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाले बताएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !