३० कार्तिक २०८१, शुक्रबार

दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम


Nepalpatra

सुशीला रेग्मी, बेझाड, २ साउन । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ ।

दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट प्राप्त रु १६ लाख ९० हजार ५८४ कृषकलाई प्रदान गरिएको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । “वर्षभरिमा कृषकले सहकारीमा दूध बिक्री गरेका आधारमा प्रतिलिटर एक रुपैयाँ ९२ पैसा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

सहकारीले दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्ष केन्द्रीय सरकारबाट रकम प्राप्त भएको थियो भने दोस्रो वर्ष प्रदेश सरकारको सहयोगमा कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको व्यवस्थापक जिसीले बताउनुभयो ।

जिल्लामै कृषकबाट धेरै दूध खरीद गरी बिक्री गर्ने डुम्रे दुग्ध उत्पादक सहकारीमा दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलित दूधमध्ये एक हजार ८०० लिटर दूध पोखरामा बिक्रीका लागि लगिन्छ । सहकारीमा आबद्ध रहेकामध्ये ४१ वटा ठूला दुग्ध उत्पादक फार्म आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा छन् ।

सहकारीमा आबद्ध रहेका कृषकले बढीमा ६५ वटासम्म दुधालु पशुपालन गरेर आम्दानीको स्रोत जुटाउँदै आइरहेका छन् । सहकारीले कृषकलाई मध्यनजर गर्दै १३ स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध खरीद गर्ने गरेको छ । डुम्रे क्षेत्रमा तीन, तिनाऊ गाउँपालिका–३ को झुम्सामा एक, रिब्दिकोट गाउँपालिका–६ को ठिमुरेमा दुई, ४ को भैरवस्थानमा एक, माथागढी गाउँपालिका–२ दध्रामा एक र सोही गाउँपालिका–३ कसेनीको सराईमा एक वटा दूध सङ्कलन केन्द्र रहेको छ ।

त्यस्तै तानसेन नगरपालिका–८ स्थित मदनपोखरामा दुई, ९ को बन्दिपोखराथोकमा एक, रिब्दिकोटको सोमरमा एक गरी १३ वटा सङ्कलन केन्द्रबाट कृषकको दूध खरीद गरी सहकारीले बजारसम्म पु¥याउने गरेको बजार व्यवस्थापक कृष्णप्रसाद भट्टराईले बताउनुभयो । “कृषकलाई पायक पर्ने विभिन्न ठाउँमा सङ्कलन केन्द्र स्थापना गरिएपछि दूध खरीद–बिक्री गर्न सजिलो भएको छ, कृषकको सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो ।

कृषकको घरघरबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउन १७ जना कर्मचारी परिचालन गरिएको छ । गुणस्तर हेरी गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैँसीको ६० देखि ६५ सम्म कृषकबाट दूध खरीद गर्ने गरेको सहकारीले जनाएको छ । कृषकबाट खरीद गरेको गाईको दूध ७० र भैँसीको ८० सम्ममा बजारमा बिक्री भइरहेको छ ।

एक सय ५० भकारो सुधार

पाल्पाको निस्दी गाउँपालिकामा १५० वटा भकारो सुधार गरिएको छ । गाईभैँसीको भकारो सुधार गरी उन्नत जातका पशुपालन वृद्धि गराउन र स्वस्थ बाली उत्पादन गर्न भकारो सुधार गरिएको हो । गाई, भैँसीको उचित बसाइको व्यवस्थापनसँगै मूत्र सङ्कलनबाट जैविक मल तयार गरी स्वस्थ कृषि उत्पादनमा जोड दिने उद्देश्यले भकारो सुधार गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १००, आव ०७४/७५ मा ५० वटा गरी १५० घरमा भकारो सुधार गरिएपछि यहाँका कृषक स्वस्थ्य बाली उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाको भकारो सुधार कार्यक्रममार्फत ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषकको लगानी गरी १२ हजार २०० को दरले भकारो सुधार गरिएको निस्दी गाउँपालिका पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले बताउनुभयो ।

“कृषकले व्यावसायिक पशुपालन गरे पनि भकारो व्यवस्थित नहँुदा आर्थिक लाभ लिन सकेका थिएनन् । भकारो सुधार गरेपछि अहिले व्यावसायिक पशुपालन तथा तरकारी उत्पादनतर्फ यहाँका कृषक अग्रसर हुँदै गएका छन्”, मश्राङ्गीले भन्नुभयो । गोठको व्यवस्थापन नमिल्दा लगानीअनुसारको कृषकले पशुपालनबाट उत्पादन लिन नसकिरहेको अवस्था छ । गाईभँैसीको मलमूत्र व्यवस्थापन नगर्दा त्यत्तिकै खेर गइरहेको थियो, भकारो सुधार गरेपछि मलमूत्र सही ठाउँमा सदुपयोग गरिन थालेको अगुवा कृषक शेरबहादुर सोतीले बताउनुभयो ।

“खाल्डाखुल्डी परेका गोठमा पशु चौपायाहरुलाई बस्नसमेत अप्ठ्यारो अवस्था थियो, भकारो सुधार गरेपछि पशुलाई दानापानी, घाँसपात दिन सजिलो परेको छ”, सोतीले भन्नुभयो । मूत्र बहने नाली र गाईभैँसीलाई पानी तथा घाँस हाल्ने ठाउँ निर्माण गरिएको उहाँको भनाइ छ ।

यसैगरी बङ्गुरपालनतर्फ १५० वटा बङ्गुरको खोर सुधार भएको छ । बङ्गुरपालन व्यवसायमा कृषकलाई आकर्षित गराउन कृषकको ३० र गाउँपालिकाको ७० प्रतिशत गरी रु दश हजार ८६० का दरले बङ्गुर खोर सुधार गरिएको हो ।

गाउँपालिका–१ बाकामलाङमा तीस, ३ झिरुवासमा पचास, ४ मित्यालमा ४५ र ६ अर्चलेमा २५ वटा बङ्गुरका खोर सुधार गरिएको पशु शाखाले जनाएको छ । त्यस्तै गाउँपालिकाले व्यावयायिक फार्म सुधार कार्यक्रमअन्तर्गत सात वटा फार्मलाई प्रोत्साहनस्वरुप ८० हजार अनुदान प्रदान गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !