६ जेष्ठ २०८१, आइतबार

केन्द्रीय सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने


काठमाडौँ, २९ असार । सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय गरेको जानकारी दिँदै उहाँले घाइतेको उपचारमा कुनै कमीकमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुने र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्तै परिचालन गर्ने, विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायले पूर्ण सतर्कता अपनाउने एवं आवश्यक कदम चाल्ने बैठकले निर्णय गरेको छ ।”

केही दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षति, यातायात, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्राभावित भएको छ । सो घटनामा परी मुलुकका विभिन्न स्थानमा हालसम्म ५१ जनाको मृत्यु, ३१ जना बेपत्ता, २८ जना घाइते, १० हजार ३८५ घरुधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको सरकारले जनाएको छ ।

बैठकले उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गर्ने, प्रभावित शोकसन्तप्त परिवानजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरी आवश्यक र सम्भव कदम चाल्ने, उद्धार र राहतलगायत कार्यमा आवश्यक सहयोग पु¥याउन जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले यस दुःखद् परिस्थितिमा सबै सरकारी निकाय, निजी क्षेत्र सामाजिक क्षेत्र तथा गैरसरकारी सङ्घसंस्थालाई समन्वयात्मक रुपमा परिचालन गरी विपद् प्रभावितको उद्धार राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्याङ्कन गर्ने, तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा थप आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो । बैठकले घटनालगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गर्ने, उपचार गर्ने, सुरक्षा दिने, समाचार सम्प्रेषण गर्नेलगायतका कार्यमा स्वतस्फूर्त परिचालित भई सहयोग गर्ने सरोकारवाला सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !