४ आश्विन २०८१, शुक्रबार

अपराधीको विवरण वडामा


घोराही, ८ जेठ । जिल्ला अदालत दाङले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका एक हजार ७९० अपराधीको नाम ठेगानासहित स्थानीय तहमा विवरण पठाएको छ ।

सेवा प्रवाहमा उनीहरुको पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले सम्बन्धित उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा पत्र पठाएको हो ।

अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार दाङमा विसं २००८ देखि २०७५ सालसम्म कैद सजाय तोकिएका २७९ नेपाली र नौ विदेशीसहित २८८ अपराधी अदालतको फरार सूचीमा छन् । त्यसैगरी, जरिवाना तोकिएका एक हजार ८५ नेपाली र पाँच जना विदेशी गरी एक हजार ९० जना अपराधी फरार छन भने कैद तथा जरिवाना दुवै फैसला भएका ४०८ नेपाली र चार विदेशी गरी ४१२ अपराधी फरार सूचीमा छन् ।

अपराधीको विवरण वडागतरुपमा स्थानीय सरकारलाई उपलब्ध गराइएको र उनीहरुलाई सेवा दिए कर्मचारी तथा जनप्रतिनिधिलाई कारवाही हुनेसमेत न्यायाधीश रावलले बताउनुभयो । त्यसैगरी प्रशासन, बैंक तथा वित्तीय संस्थालाई पनि पत्र पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ को व्यवस्थाअनुसार सबैलाई पत्राचार गरिएको उहाँको भनाइ छ ।

खानेपानी योजना शुरु

नारायणयपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश नं ५ सरकारको आर्थिक सहयोगमा घोराही उपमहानगरपालिका–८ मर्पाडाँडामा रु आठ करोडको लागतमा खानेपानी आयोजना शुरु गरेको छ ।

डिपबोरिङमार्फत् सो वडाका पाँच हजार घरधुरीलाई एकै पटक पानी पु¥याउने लक्ष्यका साथ दुई लाख २५ हजार लिटर पानी अट्ने ओभरहेड ट्याङ्कीको निर्माण गरिने बताइएको छ । उक्त आयोजनाको ओभरहेड ट्याङ्की मात्र रु साढे ८३ लाख ३१ हजारमा निर्माण हुन लागेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले दुई वर्षे योजनाअन्तर्गत खानेपानी योजनाको निर्माण सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरेले खोला र कुवाको पानी खाँदै आएका यहाँका जनतालाई शुद्ध पानी पु¥याउन समितिको प्रस्तावमा प्रदेश सरकारले उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो । साथै उहाँले छिट्टै नै जनताको घर घरमा पानी पु¥याउन काम थालिएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !