३० कार्तिक २०८१, शुक्रबार

बाढीले बगाएको विद्यालयमा सहयोग


Myagdi

१९ असोज, म्याग्दी । कालीगण्डकी नदीको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाता र ८ फुटे ६९ पाता गरी करीब १३ बण्डल रङ्गिन जस्तापाता प्राप्त भएको हो ।

संस्थाका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्का र प्रधानाध्यापक शान्ति राम्जालीलाई जस्तापाता हस्तान्तरण गर्नुभएको थियो ।

गत साउन ३० गते कालीगण्डकीमा आएको बाढीले सो विद्यालयको छ कोठे भवन बगाएपछि हाल स्थानीयको घरको कोठामा पठनपाठन सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणका लागि जग्गाको व्यवस्थापन र योजना माग गरिएको प्रअ राम्जालीले बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय जगतबहादुर बोहोराले भालेबासमा दुई आना दुई दाम दुई पैसा जग्गा उपलब्ध गराइसक्नुभएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको रु ५० हजारबाट त्रिपाल, म्याट्रेस खरिद गरिएको छ । लर्न नेपालले शिक्षण सामग्री सहयोग गरेको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !