८ भदौ, सिड्नी । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।
पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गरिआउनुभएको थियो ।
अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गर्नुभएको थियो । यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा हुनुहुन्थ्यो तर उहाँ पहिलो चरणमै पराजित हुनुभएको थियो ।
“मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,” प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भन्नुभयो । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिनुभयो ।
तीन वर्षदेखि सत्ताको बागडोर सम्हाल्नुभएका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो, तर त्यसबखत उहाँ अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिनुभएको थियो । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै सङ्कट आइलाग्यो ।
राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ ।
टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनुहुनेछ र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नुहुनेछ ।
पूर्व आप्रवासन मन्त्रीको कार्यभार समेत सम्हाल्नु भएका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुनुहुन्छ । (रासस/एएफपी)