२३ भाद्र २०८१, आइतबार

बाढीपहिरो पीडितलाई राहत माग


BICC

२९ साउन, काठमाडौँ । सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा गुनासो गर्नुभयो । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिमा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद दामोदर भण्डारीले बाढीपहिराका कारण प्रदेश नं ७ को पहाडी क्षेत्रमा यातायात सञ्चालनमा समस्या परेको बताउनुभयो । सांसद पार्वतीकुमारी बिसङ्खेले बाढीपहिराका कारण ललितपुरको पहाडी क्षेत्र प्रभावित भई १६० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तह उपेक्षित किन 

सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय तह नै सङ्घीय व्यवस्थाको प्रमुख आधार भए पनि पछिल्लो दिनमा उपेक्षा गरिएकामा गुनासो गर्नुभयो । दार्चुलाका तीन स्थानीय तहमा सुरक्षाको प्रबन्ध नहुँदा बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्न नमानेकाले स्थानीयवासी अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यतामा छन् भन्दै उहाँले तत्काल नेपाल प्रहरीको चौकी स्थापना गर्न माग गर्नुभयो ।

बाँदरबाट दुःख 

सांसद नारायणप्रसाद पङ्गेनीले स्याङ्जाका विभिन्न स्थानमा बाँदरले दुःख दिएकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बाँदरका हुलका हुल आएर किसानको खेतीबाली नष्ट गरेका छन् । वर्षभरी उपभोग गर्ने अन्नबाली बाँदरले आइदिएपछि किसानले के खालान् ? तत्काल बाँदर नियन्त्रण गरियोस् ।”

करको बोझ 
सांसदले स्थानीय तहमा मनलाग्दी तवरले कर लगाएर नागरिकलाई दुःख दिइएको छ भन्दै सरकारले गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश रसाइली स्नेहीले करको बोझ बढ्दा स्थानीय तहमा नागरिक बस्न नसक्ने अवस्थामा पुगेका छन् भन्दै कुन निकायले कस्तो कर उठाउने भन्नेमा सदनमार्फत जनतालाई जानकारी दिन सरकारसँग आग्रह गर्नुभयो । सांसद पार्वती डिसी चौधरी, पूर्णाकुमारी सुवेदी र प्रमिला राईले स्थानीय तहले करको भार बोकाए पनि स्थानीयवासीलाई सेवा तथा सुविधा नदिएको भन्दै गुनासो गर्नुभयो । सांसद दलबहादुर राना, दामोदर भण्डारी, दुर्गाबहादुर रावत र देवप्रसाद गुरुङले पनि समसामयिक विषयमा सदन र सरकारको ध्यानकर्षण गराउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !