८ पुस २०८१, सोमबार

गुणले भरिपूर्ण गुँला पर्व


Gunla Parba

२७ साउन, काठमाडौँ । स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आजदेखि शुरु भएको छ ।

गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ । गुणले भरिपूर्ण महीना भएकाले यस पर्वलाई गुँला भनिएको हो । कसै कसैले नवौँ महीनामा आउने पर्व भएकाले गुँला भएको तर्क दिन्छन् । काठमाडौँका विभिन्न टोलटोलबाट मानन्धर, ताम्राकार, तुलाधर आदि जातिका बौद्ध धर्मावलम्बी विभिन्न समूह बनाई बाजागाजाका साथ बिहान सबेरै स्वयम्भू परिक्रमा गरी बुद्धको दर्शन गरेर फर्किने चलन छ ।

यसरी स्वयम्भूको परिक्रमा गर्दा विशेषगरी प्राचीन बुद्ध भजन ‘जय नमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस विज्यात…’ भन्नेलगायत अन्य बुद्ध भजन गाइने प्रचलन छ । भक्तजन बिहान ४ बजे जम्मा भई नेवारी बाजा बजाउँदै स्वयम्भू पुग्ने र बिहान ७ बजेभित्र फर्किन्छन् ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ जंगल र ‘ला’ को अर्थ महीना हो । बुद्धधर्ममा जंगलमा भएको अन्धकारलाई शिक्षा अर्थात् बुद्धको उपदेशले उज्यालो बाटो देखाउने भएकाले गुँला भनिएको बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यले बताउनुभयो । यस महीनाभित्र नेवार समुदायले पाटनमा यल पञ्च दाँ, वैद्य ब्वय्गु, गुँपुन्ही, शिलु मेला, कृष्ण पक्षको १५ दिनमा वैद्य स्ववनेगु र मतयाः तथा काठमाडौँमा येँ पञ्च दाँ, बौया ख्वा स्वयगु आदि पर्व मनाउने गर्छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !