४ जेष्ठ २०८१, शुक्रबार

चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्छः अध्यक्ष प्रचण्ड


Prachanda

२६ साउन, रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ ।

चितवन पर्यटन विकास समितिको आयोजनामा आज भरतपुरमा आयोजित चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चितवनको नारायणीलगायतका नदी समग्र देशकै विकासका लागि वरदान हुनसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले पर्यटकहरुको आकर्षण हिमाल भन्दापनि समुन्द्र र नदी किनारमा बढेको उल्लेख गर्दै नारायणी, राप्ती र रिउ नदी चितवनको विकासका लागि वरदान सावित हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।

“जलमार्गको कुरा गर्दा गण्डक–नारायणी एउटा उच्च सम्भावना भएको नदी हो भन्ने कुरामा दुई मत छैन, मानिसको ध्यान पहाडभन्दा पनि नदी र समुन्द्रतीर केन्द्रित भएको छ, नारायणी हाम्रो लागि वरदान हुनसक्छ, रिउ र राप्ती नदी पनि कनेक्टिभिटीका दृिष्टले महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले चितवनका लागि वैकल्पिक राजमार्गको आवश्यकतामाथि जोड दिदैं केरुङदेखि ठोरीसम्म जोड्ने हुलाकी मार्गका लागि पृथ्वी राजमार्गको निश्चित बिन्दुबाट सुरुङ खनेर चितवनको शक्तिखोरमा निकाल्ने योजना अघि बढेको जानकारी दिनुभयो ।

“शक्तिखोरमा सुरुङ निकालेर भरतपुर हुँदै माडी ठोरी लैजाने विषयमा छलफल मात्रै होइन, कंक्रिट रुपमा डिपिआर बनाउनेमा सरकार अगाडि बढेको छ,” उहाँले भन्नुभयो, “त्यसो हुने वित्तीकै मुग्लिनबाटोमा प्राकृतिक रुपमा जे समस्या छ, त्यसको पनि समाधान हुने र कनेक्टिभिटीका दृष्टिले पनि महत्वपूर्ण हुन्छ ।”

अध्यक्ष दाहालले उक्त विषय अर्थ मन्त्रालय, प्रधानमन्त्री र सरकारको पनि ध्यानाकर्षण भएको छ र म आफैं पनि संलग्न भएकाले निर्माण हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।

सडक निर्माणपछि हुलाकी मार्ग उत्तर दक्षिणको महत्वपूर्ण र छोटो बाटो हुने बताउँदै उहाँले यसले चितवनको र समग्र देशकै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले चितवनलाई विकास गर्नु भनेको समग्र देशकै विकास गर्नुभएकाले सिँगो देशलाई मध्यनजर गरेर चितवनको विकासमा लाग्नुपर्नेमा जोड दिदैं जतिधेरै कनेक्टिभिटी, रेलमार्ग, जलमार्ग र हवाइमार्ग हुन्छ, त्यति धेरै विकास हुने बताउनुभयो ।

नेपालमा अहिले व्यापार घाटा कम गर्नेतिर जोड दिएकाले विकास निर्माणमा कम ध्यान पुग्दा कता कता म्याच नभएको हो की भन्ने महसुश भएको छ, उहाँले भन्नुभयो, “सरकारको ध्यान सन्तुलित विकासमा छ ।”

अध्यक्ष दाहालले चितवनमा क्रिकेट मैदान, रङ्गशाला, सिटीहल, कभर्डहल, नारायणी र राप्ती रिङरोड पाइपलाइनमै रहेको र कार्यान्वयनतर्फ अघि बढेको चर्चा गर्दै दक्षिण माडीको समस्या हल गर्न चितवन निकुञ्जको ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठिमा चितवनका सातवटा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो क्षेत्रको पर्यटन विकासका बारेमा जानकारी गराउनुभयो ।

चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जिल्लाको पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !