२१ साउन, लहान । केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट श्ून्यमा झारिएको हो । आर्थिक वर्ष २०७३/७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो ।
यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३३५ ग्राहकको विद्युत् लाइन आव २०७४/७५ मा काटिएको यादवले बताउनुभयो । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ ।
वितरण केन्द्र मिर्चैयाले आव २०७४/७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद् गरिएको बताइएको छ । (रासस)