३ मंसिर २०८१, सोमबार

हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ : गृहमन्त्री थापा


rambahadur

१७ साउन, काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

उक्त घटनाका सम्बन्धमा गृहमन्त्री थापाले प्रहरीले आवश्यक खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै उहाँले यस्ता हत्या हिंसाका घटनामा मदिरा सेवन र लागुपदार्थको सेवन कारण बन्ने गरेको बताउनुभयो ।

गृहमन्त्री थापाले अनियन्त्रित मदिरा सेवन र लागुपदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी गराउनुभयो । उहाँले सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको र गम्भीर छानबिन भइरहेको जानकारी गराउनुभयो । राजनीतिक स्थायित्व नचाहने तत्वले यस्तो घटना घटाउने प्रयास भएको हुन सक्ने उहाँको आशंका थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !