१३ पुस २०८१, शनिबार

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी


Nepalpatra

१६ साउन, काठमाडौँ ।  काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् ।

केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।

कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताउनुहुन्छ । “सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ । गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौँ,” उहाँले भन्नुभयो ।

कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन् । एक सय चार वर्ष पुरानो केन्द्रीय कारागारभित्रको तीनवटा भवनमा हाल दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक रहेका छन् । केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । पुरानो भौतिक संरचना र संख्या अत्यधिक भएकाले कारागार कार्यालयले हाल दैनिक चार पटक कैदीबन्दीको हाजिर गर्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !