६ आश्विन २०८१, आइतबार

चितवनमा प्रदेश नं ३ को बालसुधार गृह


Nepalpatra

२ साउन, रत्ननगर, चितवन । चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ ।

चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । गृहमन्त्रालयको निर्देशनअनुसार सो स्थान तय गरी जिल्लाबाट निर्णय गरेर केन्द्रमा पठाइसकिएको प्रजिअ बस्नेतले बताउनुभयो ।

कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि १८ वर्षका बालबालिकालाई कारागारमा नराखी उक्त सुधार गृहमा राखिने छ । बन्न लागेको चितवनको सुधार गृह १३० जना क्षमताको हुनेछ ।

यसअघि चितवनको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका लागि तोकेर आए पनि सो क्षेत्र महानगरपालिकाले उपभोग गर्ने भनिएपछि नयाँस्थानका लागि निर्णय गरेर केन्द्रमा पठाइएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति, चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सिचाइ कार्यालय भएको भरतपुरको जग्गामा गृह स्थापना गर्ने निर्णय गरेर केन्द्रमा पठाइएको काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले यसअघि पोखरा, विराटनगर र भक्तपुरमा यस्ता सुधार गृह स्थापना गरेको थियो । काफ्लेका अनुसार अहिले नेपालमा ३०० भन्दा बढी बालबालिका छन् । प्रदेश नं ३ मा १०० जति बालबालिका रहेका छन् । हरेक प्रदेशमा एउटा सुधार गृह बनाउने योजना सरकारको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !