२ फाल्गुन २०८२, शनिबार

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने


नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गर्नुभएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिइन् ।

रावलका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने छन् ।

यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !