३ फाल्गुन २०८२, आइतबार

धान लाग्ने रोगका कारण किसान हैरान


dhankheti_paddy_farming

२८ असार, ललितपुर । नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले किसान हैरान छन् । धानबालीमा मुख्य गरेर मरुवा, फेद कुहिने रोग, खैरोथोप्ला र पातेफेद डढुवाको प्रभाव देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ ।

बालीमा ब्याक्टेरिया ढुसी र जुकाको आक्रमणले रोग लाग्ने निर्देशनालयमा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । रोगको फैलावट, प्रकोप र तिनले पु¥याउने नोक्सानी फरक छन् । खैरो थोप्ले, कालोपोके र दागी दाना समस्या धानबालीमा सबै क्षेत्रमा पाइन्छ ।
उहाँले भन्नुभयो, “यी रोग सबैतिर फैलिए पनि बोट तथा बालीमा कम मात्रै असर गर्छन तर सेतो टुप्पो, पुड्के, दाना डढुवा लगायतका रोगले चाँडो आक्रमण नगरे पनि गरेपछि बालीमा ठूलो असर गर्छन् ।”

बर्षेनी धानबालीमा पहाडी क्षेत्रमा मरुवा र तराई क्षेत्रमा डढुवा दोहोरिरहेको मानन्धरले बताउनुभयो । यी रोगका कारण वार्षिक झण्डै २० प्रतिशत उत्पादन नोक्सानी हुँदै आएको छ । उहाँले भन्नुभयो “यो रोगले प्रकोपको रुप लिँदा ७० देखि ८० प्रतिशतसम्म पनि बालीमा नोक्सान गर्न सक्छ ।” किसानले सकेसम्म रोग नियन्त्रक जातको बिउ रोप्नुपर्नेमा बैज्ञानिक मानन्धरले जोड दिनुभयो । रोगले प्रकोपकै रुप लिएपछि मात्रै किसान प्रयोगशाला पुग्छन् ।

रोग लाग्ने जातको बीउ, सशक्त जीवाणुको उपस्थिति र रोग अनुकूलको वातावरणले मात्र बालीमा असर पार्नेे नार्कका अध्ययनमा पाइएको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !