२६ पुस २०८१, शुक्रबार

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण


Myagdi

२५ असार, म्याग्दी ।  म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजा लाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब छ किलोमिटर सडक निर्माण गरेका हुन् । अर्मनको पोक सातबिसे तोरीडाँडा खर्क हुँदै ३ नम्बरको वडा कार्यालय जोड्ने नमूना सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सडक निर्माणमा समुदायको तर्फबाट रु छ लाख ५० हजार बराबरको श्रमदान गरिएको छ । गाउँपालिकाले नमूना सडक निर्माण गर्ने उद्देश्यले विनियोजन गरेको बजेटबाट ट्याक निर्माण भएसँगै वडा नम्बर ३ र ४ बरंजाका स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

यस सडक निर्माण नहुँदासम्म बरंजाका स्थानीयले गाउँपालिकाको केन्द्र बाबियाचौर आउनको लागि बरंजा, पखेर, तातोपानी हुँदैको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । छोटो र स्तरीय सडक निर्माण भएपछि बरंजावासीलाई गाउँपालिका पुग्न झण्डै ४५ मिनेटको बाटो छोटिएको छ ।

गाउँपालिकाबाट यसै वर्ष साम्तुङ झाँझेपानी हँुदै किमचौर सडक, पोक, किमचौर सडक पूर्णगाउँ, टोड्के सडकलाई समेत स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा मनाउने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !