१० असार, नुवाकोट । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।
चीनको आंैपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा आगामी अक्टुबर देखि शुरु हुने भएको हो ।
त्रिशूली नदीस्थित नुवाकोटको तार्केश्वर गाउँपालिका–४ ढोडबँेसीमा बाँधस्थल र धादिङको गल्छी गाउँपालिका–१ हाँडीखोलाटारमा उत्पादन गृह हुनेगरी निर्माण गर्न लागिएको सो आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाँ कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेशनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।
उक्त आयोजनाका लागि इञ्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (इपिसि–एफ) ढाँचामा निर्माण गर्ने सम्बन्धी सम्झौता दोङफाङसँग गत चैत १४ गते हस्ताक्षर भएको त्रिशूली–गल्छी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिनुभयो ।
“आयोजना निर्माणको काम विसं २०७३ कात्तिक १७ मा विद्युत् उत्पादन अनुमति पत्र पाएलगत्तै शुरु गरे पनि वित्तीय व्यवस्थापनले रोकिएकाले अब त्यो पनि सहज भएपछि आगामी अक्टुबरदेखि काम शुरु हुनेभएको छ ।” पण्डितले भन्नुभयो, “नुवाकोटमा बाँधस्थल र धादिङमा विद्युत् उत्पादन गृह हुने भएकाले दुबैतिर एकैसाथ काम अघि बढाउन लागिएको छ । ”
उहाँका अनुसार उक्त आयोजना सम्पन्न गर्न लाग्नेमध्ये रु १० अर्ब ८१ करोड चिनियाँ कम्पनीले लगानी गर्ने बुधबार भएको सम्झौता पत्रमा उल्लेख छ । आयोजनाको विद्युत् उत्पादन शुरु भएको एक वर्षभित्र आयोजनाको प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकसँगको सहकार्यमा चिनियाँ कम्पनीलाई चार प्रतिशत ब्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।
आयोजनाको कूल लागत रु १४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ । “निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको आयोजना शतप्रतिशत सुरुङ मार्गमार्फत निर्माण गर्न लागिएको हो ।” पण्डितले भन्नुभयो, “त्रिशूली नदीस्थित नुवाकोटको ढोडबेँसीस्थित बाँध स्थलदेखि धादिङको हाँडीखोलासम्म आठ हजार १०० मिटर सुरुङ निर्माणको काम शुरु गर्ने पहिलो लक्ष्य छ ।
उहाँका अनुसार आयोजनाको काम सम्झौता भएलगत्तै शुरु गर्न लागिए पनि त्रिशूली नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाव कम भएपछि अक्टुबरदेखि कामलाई तीव्रता दिन लागिएको हो ।
आयोजना निर्माण सम्बन्धी चीनमा भएको सम्झौतामा चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धकाली पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङफाङका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । (रासस)