१ आश्विन २०८१, मंगलबार

घर दैलोमा सेवा, सुशासनमा टेवा अभियान शुरु


बागलुङ

१० असार, बागलुङ । एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सो कार्यालयले दुई साताको अवधिमा जिल्लाका विभिन्न चार ठाउँमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेका हुन् । तीमध्ये तमानखोला गाउँपालिकामा ७० जना, गलकोट नगरपालिका–११ रिघामा ८३ जना र वडा नं ३ हटियामा २६८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी असार ४ गते जैमिनी नगरपालिका–७ बेलबगरमा सञ्चालित शिविरबाट १३९ जनाले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सो कार्यालयका अनुसार, सञ्चालित शिविरमध्ये तमानखोलाबाट १८, गलकोट रिघाबाट छ, हटियाबाट २८, बेलबगरबाट २१ गरी कुल ७३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाली सेनाको २३ नं बाहिनी अड्डाको सहकार्यमा तमानखोला सञ्चालित उक्त शिविरबाट १७० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ ।

शिविरबाट तमानखोला गाउँपालिका–५ का ७२ वर्षीय चित्रे कामीले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा अत्यन्त हर्षित भएका थिए । यसअघि नागरिकताको अभावमा कामीले सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित थिए ।

विभिन्न कारणले सार्वजनिक सेवालाई अझ बढी सहज, सरल र घर दैलोमा पु¥याउने उद्देश्यले एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो ।

विशेषगरी नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता रहेका सर्वसाधारणलाई शिविरबाट ठूलो राहत मिलेको छ, उहाँले भन्नुभयो, “सुशासन प्रवद्र्धन र नागरिकलाई सहज रुपमा सार्वजनिक सेवा सुविधा प्रदान गर्न घुम्ती शिविर सञ्चालन गरेका छौं ।”

प्रजिअ खरेलका अनुसार जिल्लाका अन्य दुर्गम ठाउँमा पनि यस्ता शिविर सञ्चालन गर्ने योजना कार्यालयको छ । घर दैलोमै सार्वजनिक सेवा पाउँदा गाउँले पनि खुशी भएका छन् ।

वर्षौंसम्म नागरिकता र अपाङ्गता परिचयपत्र नहुँदा सरकारी सेवा र सम्मान पाउनबाट वञ्चित नागरिकलाई एकीकृत घुम्ती शिविर बढी लाभदायक बनेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !