१२ आश्विन २०८१, शनिबार

मानवबस्तीविहीन लाङ्टाङमा नब्बे प्रतिशत बस्ती बस्यो


Langtang

२९ जेठ , काठमाडौँ ।   भूकम्पपछि गएको हिमपहिरोका कारण पूर्णरुपमा क्षतिग्रस्त लाङ्टाङमा पुनः बस्ती बसेको छ ।

निडकोे अगुवाइमा सर्वप्रथम २०७२ असार महिनामा सम्भाव्यताको अध्ययनपछि बस्ती बसाउन सफल भएको हो ।

लाङ्टाङ सद्भावना दूतका रुपमा रहनुभएका पत्रकार अशोक सिलवालको नेतृत्वमा सो क्षेत्रमा स्थानीयवासीसहित पुगी सम्भाव्यता अध्ययन भएको थियो ।

सो अध्ययनपछि पहिरो गएका क्षेत्रमा पुनः बस्ती बसाउन मिल्ने निष्कर्ष निस्किएपछि स्थानीयवासीको सहयोगमा बस्ती बसाइएकोे सिलवालले बताउनुभयो ।

काठमाडौँमा आज आयोजित ‘लाङ्टाङ यात्राः विछोडदेखि प्रेरणासम्म’ नामक छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, “लाङ्टाङ क्षेत्रलाई पुनःजीवन दिन उक्त क्षेत्रमा सम्भाव्यता अध्ययनका लागि पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा सो क्षेत्रको अध्ययन गरिएको हो”, उहाँले थप्नुभयो, “उक्त क्षेत्रको यात्रापछि वृत्तचित्रको निर्माण गरेपछि पुनः पर्यटनको सम्भाव्यता देखिएको थियो ।”

मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङ्टाङमा पहिलो पत्रकारका रुपमा आफू उक्त क्षेत्रमा पुग्न सफल भएको उहाँले बताउनुभयो । लाङ्टाङमा अहिले १०० प्रतिशत स्थानीयवासी आफ्ना घर फर्किएर गइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले ९० प्रतिशत घर सो क्षेत्रमा बनिसकेको बताउनुभयो ।

सो पहिरोमा परी १७५ जना स्थानीयवासीको निधन भएको थियो भने स्थानीयवासी र विदेशी पर्यटक गरी ८३ जना बेपत्ता भएका थिए ।

लाङ्टाङ क्षेत्रका बासिन्दा ९० प्रतिशत पर्यटनमा निर्भर छन् । उक्त क्षेत्रमा मानिस बस्न थालेपछि पुनः पर्यटनका क्रियाकलापसमेत सुरु हुन थालेका छन् भने बाह्य पर्यटकसमेत पदयात्राका लागि जाने गरेका छन् । पुनः उक्त क्षेत्रमा बस्ती बस्न शुरु भएपछि पूर्वाधारमा थप विकास भएको सिलवालले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायी दीपक महतले सर्वप्रथम पत्रकार सिलवाल लाङ्टाङको अध्ययनका लागि त्यहाँ पैदल जानका लागि प्रस्ताव राख्नुभएको बताउनुभयो ।

महतले भन्नुभयो, “लाङ्टाङसँग भावनात्मकरुपमा मेरो पनि नाता भएकाले त्यसका लागि सहयोग गर्न तयार भएको थिएँ ।” लाङ्टाङमा बस्ती बसाउन स्थानीयवासीलगायत सिलवाल पनि पत्रकारिता पेशालाई नै त्यागेर उक्त क्षेत्रको पर्यटनको विकासका लागि लाग्नुभएको उहाँले जानकारी दिनुभयो । ‘निड’ नामक संस्थाको अगुवाइमा सिलवाललाई स्थानीयवासीसहित प्रभावित क्षेत्रमा पठाएको उहाँले स्मरण गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालका कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले लाङ्टाङको पर्यटनको विकासका लागि कविताको भूमिका महत्वपूर्ण हुने भन्दै कविको टोली सो क्षेत्रमा लैजानुुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !