१२ असार २०८१, बुधबार

बाउन्न धार्मिक संस्थालाई सोलार


Nepalpatra

१८ जेठ, बागलुङ । बागलुङ नगरपालिकाको पहलमा यहाँका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थाले सौर्य ऊर्जा प्रणाली (सोलार) सहयोग पाएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएका सोलार बिहीबार नगरपालिकाले सम्बन्धित संस्थालाई वितरण गरेको हो । ५२ वटै संस्थाले २० वाट क्षमताका सोलार प्यानल, २० एम्पियरको ब्याट्री, तीनवटा बल्व र कन्भर्टर पाएका छन् । रु ११ हजार ५०० का दरले रु पाँच लाख ९८ हजार मूल्यको सोलार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो ।

सोलार सहयोग भित्र्याउन बागलुङ नगरपालिकाले विशेष पहल गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । ७० वटा संस्था पहिचान गरी सिफारिस गरिएकोमा जम्मा ५२ वटाको मात्र स्वीकृत भएको उहाँको भनाइ छ ।
छुटेका संस्थालाई पुनः नयाँ प्रक्रियाबाट सोलार सहयोग ल्याइने जनाइएको छ । धार्मिक संस्थामा बिजुलीको वैकल्पिक व्यवस्थाका लागि सोलार उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

बिजुली नपुगेका ठाउँमा सौर्य ऊर्जा प्रणाली झन् प्रभावकारी हुने देखिएको छ । धार्मिक संस्थालाई नगरपालिकाले गरेको सहयोग उल्लेखनीय रहेको ओमकारेश्वर मन्दिरका अध्यक्ष देवबहादुर श्रेष्ठले बताउनुभयो । सबै खाले धर्म, संस्कृतिको संरक्षण र उत्थान सबैको दायित्व भएको उहाँको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !